Kathmandu Press

स्थानीय तहको निर्वाचन मंसिर १४ गते हुने

काठमाडौं, साउन १९ : स्थानीय तहको रिक्त रहेका स्थानमा मंसिर १४ गते निर्वाचन हुने भएको छ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १४ गते न....

स्थानीय तहको निर्वाचन मंसिर १४ गते हुने
फाइल फोटो

काठमाडौं, साउन १९ : स्थानीय तहको रिक्त रहेका स्थानमा मंसिर १४ गते निर्वाचन हुने भएको छ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको संचारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए। आज पत्रकार सम्मेलन गर्दै स्थानीय तहको रिक्त स्थानको निर्वाचनसम्बन्धी जानकारी दिएका हुन्।

साउन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका विषयमा भने केही निर्णय गरेको छैन। कास्की क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्नुपर्नेछ। त्यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।

त्यस्तै, बागलुङ २ (क), भक्तपुर १ (ख) र दाङ २ (ख) मा प्रदेशसभाको निर्वाचन गर्नुपर्ने छ । यि निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूको मृत्यु भएकाले रिक्त रहेको आयोगले जनाएको छ।

स्थानीय तहमा वडा सदस्यदेखि लिएर उपमहानगरपालिका मेयरसम्म निर्वाचन गर्नुपर्नेछ।  आयोगका अनुसार, सुनसरीको धरान उपमहानगरपालिकामा मेयर पदका लागि उपनिर्वाचन गर्नुपर्नेछ।

त्यस्तै, ३८ जिल्लाका ४० वडाध्यक्ष पदमा उपनिर्वाचन गर्नुपर्नेछ। त्यस्तै, आठ सय ६४ वडा सदस्य पद पनि रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ।

प्रतिनिधिसभा र प्रदेश सभाबाहेक अन्य सबै स्थानका लागि मंसिर १४ गते निर्वाचन तोकिएको छ।

यस अघि निर्वाचन आयोगले सबै दलसँग सहमति गरेर सरकारलाई निर्वाचन मिति घोषणा गर्न सिफारिस गरेको थियो। आयोगले असोज र कात्तिकमा चाँडपर्व भएकाले मंसिर दोस्रो साताभित्र निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको थियो।

प्रकाशित मिति: १६:२३ बजे, आइतबार, साउन १९, २०७६