श्रीमतीलाई भारतमा बेचेको अभियोगमा श्रीमानसहित दुई जना पक्राउ
काठमाडौं, असोज १९ : आफ्नै श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा प्रहरीले श्रीमानसहित दुई जनालाई पक्राउ गरेको छ। श्रीमती बेचेको अभियोगमा गत बुधबार प्रहरीले...
काठमाडौं, असोज १९ : आफ्नै श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा प्रहरीले श्रीमानसहित दुई जनालाई पक्राउ गरेको छ।
श्रीमती बेचेको अभियोगमा गत बुधबार प्रहरीले नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का पासाङ तामाङलाई पक्राउ गरेको हो।
पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएका थिए। पासाङले बालाजुको होटलमा एक महिलाको जिम्मा लगाएको र महिलाले काम बापत मासिक १० हजार दिन्छु भनि भिनाजु पर्ने पुरुषको जिम्मा लगाएका थिए। उक्त पुरुषले सुनौली हुँदै भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्याएपछि म्हेण्डोले अर्कै मान्छेको जिम्मा लगाई आग्राको बेश्यालयमा ८ महिनासम्म जबरजस्ती बेश्याबृत्तिमा लगाएका थिए।
उक्त महिलालाई पुनः म्हेण्डोकै घरमा ल्याई ६४ नम्बरको गल्लीको कोठीमा राखी बेश्याबृत्तिमा लगाएको थियो। महिलालाई नेपाली राजदूतावास र शक्ती समूहको सहयोगमा गत जेठ ३१ गते फर्काइएको थियो।
पीडितले गत भदौ १ गते प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उनीहरू विरुद्ध जाहेरी दिएपछि फरार रहेकामध्ये उनीहरूलाई ब्यूरोको प्रहरीले पक्राउ गरेको हो। उनीहरूउपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको र अन्य फरार रहेकाहरूको खोजी भइरहेको उक्त ब्यूरोले जनाएको छ।












