बेरुजु फछ्र्यौट नगर्नेमाथि कारवाहीको व्यवस्था गर्न माग
काठमाडौं, साउन १९ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले संघीय संसदको सार्वजनिक लेखा समितिले ठहर गरेको बेरुजु तीन महि....

काठमाडौं, साउन १९ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले संघीय संसदको सार्वजनिक लेखा समितिले ठहर गरेको बेरुजु तीन महिनादेखि ६ महिनाभित्र असुल उपर गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
पूर्वअर्थमन्त्री समेत रहेका नेता कार्कीले सार्वजनिक लेखा समितिले दिएको निर्देशनअनुसार बेरुजु फछर्यौंट नगर्नेमाथि कडा कानुनी कार्वाहीको व्यवस्था गर्नु पर्ने बताए।
आइतबार संघीय संसदको अर्थ समितिमा पेश गरिएको ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै उनले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन पनि विधेयकमा सो कानुनी व्यवस्था गर्नुको विकल्प नरहेको बताए।
नेता कार्कीले सबै बेरुजु महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले आन्तरिक लेखा परीक्षण समूह र लेखा संचालन तथा व्यवस्थापन समूह भनि खटाइएका कर्मचारीलाई एक समूहबाट अर्को समूहमा परिवर्तन नगर्ने कानुनी व्यवस्था गर्न पनि माग गरे।
उनले अन्तिम लेखा परीक्षकले अनुचित कार्य गरेको प्रमाणित भएमा कडा कार्वाही हुने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए। बेरुजु फछर्यौंट समितिको सदस्य सचिव सार्वजनिक लेखा समितिको सचिवलाई राख्ने व्यवस्था गर्नु पर्ने उनको भनाइ थियो।
सरकारले प्रस्ताव गरेको विधेयकमा ‘कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यायलको प्रमुख’ सो समितिको सदस्य सचिव रहने प्रावधान राखिएको छ।

-1784896419.png)









