Kathmandu Press

सडक हिलाम्य, यात्रा गर्न सास्ती

गलेश्वर, असोज १९ : म्याग्दी सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक हिलाम्य हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ। बाढी र पहिरोका कारण सडक...
सडक हिलाम्य, यात्रा गर्न सास्ती

गलेश्वर, असोज १९ : म्याग्दी सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक हिलाम्य हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ। बाढी र पहिरोका कारण सडक ठाउँ ठाउँमा भत्किए पनि तिनको मर्मत हुन नसक्दा यात्रा असहज बनेको छ। 

बेनीबजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात सडकको अवस्था नाजुक छ । सबै सडक जीर्ण अवस्थामा छन्। वर्षाको समयमा आएको बाढी पहिरो र मर्मत सम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने कतिपय सडकमा पोखरी बनेको छ। बेनी–अर्थुङ्गे–पुलाचौर, बेनी–पाखापानी, बेनी–बगरफाँट–भकिम्ली, बेनी–हाँडेभीर–बरंजा, बेनी–भकुण्डेलगायत सडक अहिलेसम्म पनि मर्मत गरिएका छैनन्। यात्रुले ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। 

Hardik ivf

प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकन जथाभावी डोजर लगाएर खनिएका सडकको अवस्था अत्यन्त दयनीय छ। ‘यहाँका कतिपय सडकमा थोरै पानी पर्दा पनि मोटरसाइकल समेत चलाउन नमिल्ने हुन्छ,’ स्थानीयवासी राजकुमार सुवेदीले भने। बेनी–भकुण्डे सडकको अवस्था झन दयनीय छ । बेनी–भकुण्डे सडकमा सवारीसाधन चल्न थालेको १३ वर्ष भयो। तर उक्त सडकको स्तरोन्नति अहिलेसम्म हुन सकेको छैन।  

विसं २०६५ मा उक्त सडक सञ्चालनमा आएको हो। साढे सात किलोमिटर लामो सो सडक मर्मतका लागि हालसम्म रु एक करोड खर्च भइसकेको छ। सडकको दिन प्रतिदिन बिग्रिदै गएको स्थानीय शोभित सापकोटाले बताए। बेनी–भकुण्डे सडकखण्डमा हालसम्म जीप र मोटरसाइकलबाहेक अन्य ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। ‘पानी नपर्दा मात्रै सवारीसाधन चलाउन सहज हुन्छ,’ उनले भने।

बेनी–बगरफाँट–बरङ्जा सडकको पनि यस्तै अवस्था छ। उक्त सडकको मर्मत गर्न थालेको तीन वर्ष भयो। सडकको अवस्था हालसम्म उस्तै छ। निर्माण व्यवसायी नारायण जिसीले ठेक्का लिएको यो सडकको मर्मत कार्य तीन वर्षमा तीन प्रतिशत पनि हुन सकेको छैन। सत्र किलोमिटर दूरीको उक्त सडक सदरमुकाम बेनी बजारदेखि दुई किलोमिटर दुरीमा रहेको बगरफाँटसम्म पनि मर्मत हुन नसक्दा सडकमै पोखरी बनेको छ। 

सडक स्तरोन्नति र मर्मतको जिम्मा लिएका जिसी कन्ट्रक्सनका जिसीले वर्खामा बाढी पहिरो र त्यस अघि कोरोनाको असरका कारण निर्धारित समयमा नै सडकको काम हुन नसकेको बताए। त्यसैगरी बेनी–अर्थुङ्गे–पुलाचौर सडकको अवस्था पनि नाजुक छ। थोरै पानी पर्दा पनि सडकमा हिँड्न गाह्रो हुने स्थानीयवासी शिव बानियाँले बताए। बेनी–पाखापानी सडकको अवस्था पनि यस्तै रहेको छ। सडक मर्मतको नाममा स्थानीय सरकार र प्रदेश सरकारबाट करोडौँ रुपैयाँ खर्च भइसकेको छ। सडकको अवस्थामा सुधार हुन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ। रासस
 

प्रकाशित मिति: ०९:२७ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्