त्रिशूली–३ ‘बी’ हब सबस्टेसन निर्माणको काम ६० प्रतिशत
काठमाडौं, साउन १९ : त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली–३ &lsqu....

काठमाडौं, साउन १९ : त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली–३ ‘बी’ २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ।
ट्रान्सफर्मर रहने स्थानको जग हालिएको छ भने कन्ट्रोल बिल्डिङ बनाउन सुरु भएको छ। त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम अन्तिम चरणमा छ।
सबस्टेसनमा प्रयोग हुने उपकरणहरूको उत्पादन भइरहेको र डेढ महिनाभित्रमा आयोजनास्थलमा आपूर्ति सुरू हुने जनाएको छ।
यसैबीच प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ गाउँपालिका–५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्।
घसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन्। निर्माण कार्यको नियमित अनुगमन गर्ने बताउदै उनले जनशक्ति थप्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्।
‘यो सबस्टेसन एक वर्षभित्रमा बनाउन सकिएन भने चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन आयोजनाहरूको १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी विद्युत खेर फाल्नु पर्ने अवस्था आउन सक्छ, यस्तो अवस्था आएमा प्राधिकरणले ती आयोजनालाई करौडौं रुपैयाँ पेनाल्टी तिर्नु पर्छ,’ कार्यकारी निर्देशक घिसिङले निर्देशक दिंदै भने, ‘निर्माणका क्रममा आउनसक्ने सामाजिक, वित्तीय लगायतका समस्याको गाँठो फुकाइदिन्छौं, यस्तो संवेदनशील आयोजनाको काम निर्धारित समयमा सकिन्छ भनेर मात्रै हुँदैन, सबै पक्ष गम्भीर भई निर्माणलाई तिब्रता दिनुपर्छ।’
सबस्टेसनको निर्माण आगामी पुसको दोस्रो साताभित्र (३१ डिसेम्बर २०१९) सक्ने लक्ष्य राखिएको छ।
गत जेठमा केही स्थानीयबासीले विभिन्न माग राखी सबस्टेसन निर्माणमा अवरोध गरेका थिए। अहिले सबस्टेसन मात्रै नभएर त्यस क्षेत्रमा निर्माण भइरहेको अन्य प्रसारण लाइन निर्माणमा स्थानीयले अवरोध नगरेको आयोजना प्रमुख थर्कबहादुर थापाले बताए।
त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेसनको निर्माण गर्न लागिएको हो।
आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहनेछ। आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ।

-1784896419.png)









