Kathmandu Press

कार्बन उत्सर्जन कम गर्न जोड

काठमाडौं, असोज १८ : कार्बन उत्सर्जन कम गर्ने गरी सहरी पूर्वाधार निर्माणका योजना निर्माण गरिनुपर्नेमा जोड दिइएको छ।विश्व बसोबास दिवसका अवसरमा आज सहरी विकास...
कार्बन उत्सर्जन कम गर्न जोड

काठमाडौं, असोज १८ : कार्बन उत्सर्जन कम गर्ने गरी सहरी पूर्वाधार निर्माणका योजना निर्माण गरिनुपर्नेमा जोड दिइएको छ।

विश्व बसोबास दिवसका अवसरमा आज सहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याबिट्याट) को संयुक्त आयोजनामा भएको कार्यशालामा राष्ट्रिय योजना आयोगका सदस्य डा पुष्परमण वाग्लेले भवन निर्माणमा स्थानीय साधनको उपयोग गरी ५८ प्रतिशत कम कार्वन उत्सर्जन गर्न सकिने बताए।

देशभरका २ सय ९३ नगरपालिकामा ६२.२ प्रतिशत मानिस बसोबास गर्ने भएकाले वातावरणमैत्री विकास निर्माणमा जोड दिन उनले आह्वान गरे।  सहरी विकास मन्त्रालयका सचिव डा.  रमेशप्रसाद सिंहले सन्तुलित रुपमा सहरको विकास गर्ने गरी नीति तथा कार्यक्रम तय गरिएको जानकारी दिए।

Hardik ivf

काठमाडौं उपत्यकाका नगर प्रमुखहरु काठमाडौं उपत्यका विकास प्राधिकरणको बैठकमा नआई प्रतिनिधिमात्र पठाउँदा कतिपय विकास निर्माणका काममा प्रभाव परेको उनको भनाइ थियो। छरिएका सहरलाई एकीकृत रुपमा विकास गर्न मन्त्रालयले कम्प्याक्ट सिटीको अवधारणा अघि सारेको छ।

विभागका महानिर्देशक नवराज प्याकुरेलले सहरी क्षेत्रमा जनघनत्व बढ्दै गएकाले वातावरण मैत्री विकास गर्न आवश्यक नीति निर्माण गरी कार्यान्वयनमा लैजान लागिएको बताए। 

पूर्व सचिव किशोर थापाले कार्बन उत्सर्जन कम गर्न निजी सवारी साधन र शहरी क्षेत्रमा भवन निर्माणलाई व्यवस्थित गरिनुपर्नेमा जोड दिए। पौराणिककालको द्वारका सहर समुद्रमुनिमा डुब्नुमा जलवायु नै कारक बनेकाले त्यसबाट पाठ सिकेर वातावरण मैत्री विकास निर्माणमा सरोकार भएका निकायको ध्यान जानुपर्ने उनले बताए।

इञ्जिनियरिङ अध्ययन संस्थानका अजयचन्द्र लालले पुराना ५८ नगरपालिकाले मात्र कुल गार्हस्थ्य उत्पादनमा ५८ प्रतिशतभन्दा बढी योगदान गरेकाले त्यसको निश्चित प्रतिशत जलवायु परिवर्तनको व्यवस्थापनमा खर्च गर्न आग्रह गरे।

काठमाडौं उपत्यका विकास प्राधिकराणका जिल्ला आयुक्त एकराज अधिकारीले उपत्यकाको विकास निर्माणका लागि एकीकृत रुपमा काम गर्ने गरी स्थापना भएको प्राधिकरणको कानून पुरानो भएकाले कतिपय विषयमा अस्पष्टता भई काम गर्न अप्ठ्यारो हुन थालेको बताए। नेपालीपनको सहरी विकासको नमुना नभएकाले पनि वातावरण बिग्रन थालेको उनको भनाइ थियो। 

ललितपुर महानगरपालिकाका सहरी विकास विज्ञ प्रदीप अमात्यले उपत्यकालाई इको सिटी बनाउन १८ वटै नगरपालिकाका प्रमुखलाई बोलाएर छलफल गरिएको बताए। नगर प्रमुखहरुको सुझावका आधारमा ललितपुर महानगरलाई इको सिटीका रुपमा विकास गर्न लागिएको उनले जानकारी दिए।

स्मार्ट सिटीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुँदै सहरी विकास तथा भवन निर्माण विभागका वरिष्ठ डिभीजनल इञ्जिनियर मीरा ज्ञवालीले वातावरणमैत्री रुपमा नयाँ सहरी आयोजना अघि बढेकाले जलवायु परिवर्तनका असरलाई न्यून गर्न सहयोग गर्ने बताए।

सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवर्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न विश्व बसोवास दिवस मनाउन सुरु गरिएको हो । 

सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो। 

नेपालमा भने सन् २००१ देखि सरकारी एवम् गैर सरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। 

‘तीव्र सहरी क्रियाकलापको लक्ष्यः कार्बनरहित विश्व’ नाराका साथ यस वर्षको विश्व बसोवास दिवस मनाइएको विश्व बसोवास दिवस मूल तयारी समितिका संयोजक विष्णुप्रसाद शर्माले बताए। दिगो विकास लक्ष्यको लक्ष्य १.१ ले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ।

यस वर्षको नाराले शहरको बनोट, भवन तथा पूर्वाधार निर्माण, सवारी व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन आदि क्रियाकलाप गर्दा दिगो सहरीकरण तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राखी न्यून कार्वन उत्सर्जन गर्ने गरी वातावरण मैत्री विकास गर्नुपर्नेमा जोड दिएको छ।

वातावरण मैत्री सहरी विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने विभागको भनाइ छ। विश्व बैङ्कको तथ्याङ्क अनुसार सन् १९९० देखि हालसम्म शहरी जनसङ्ख्या चार गुणाले बढेर ४.२ अर्बभन्दा धेरै पुगेको छ। सहरीकरणका कारण वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढी विश्व तापमान एक तिहाइभन्दा धेरै भएको विभागले जनाएको छ। विश्वका सबै सबै देशले बजेटको ठूलो हिस्सा सहरीकरणमा खर्च गर्दै सहरी व्यवस्थापनलाई मुख्य कार्यसूची बनाएका छन्।

यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याबिट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले समेत विविध कार्यक्रम आयोजना गर्न लागेको विभागले जनाएको छ। दिगो र वतावरण मैत्री सहरी विकासमा जोड दिँँदै ती कार्यक्रम गरिनेछ। (रासस)

प्रकाशित मिति: १७:४३ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्