वाइडबडीको निश्पक्ष छानविन गर्न कांग्रेसको माग
काठमाडौं, माघ १६ : नेपाली कांग्रेसले निर्मता पन्त हत्याकाण्ड, वाईडबडी घोटला काण्ड लगायतका विषयमा तत्काल छनविन गरेर दोशीलाई कारवाही गर्न माग गरेको....
काठमाडौं, माघ १६ : नेपाली कांग्रेसले निर्मता पन्त हत्याकाण्ड, वाईडबडी घोटला काण्ड लगायतका विषयमा तत्काल छनविन गरेर दोशीलाई कारवाही गर्न माग गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा अधिनायकवादी र स्वेच्छाचारी प्रवृत्ति बढेको आरोप लगाउँदै चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गराएर अनसनरत डा. गोविन्द केसीसँग विगतमा गरिएका सहमतिबाट सरकार पछि हटेको बताए । यो प्रक्रिया लोकतान्त्रिक जस्तो भए पनि लोकतान्त्रिक संस्कृति र विवेक प्रदर्शन नगरिएको शर्माले बताए । वर्तमान सरकार संघीयताको कार्यान्वयनमा गम्भीर नदेखिएको भन्दै संघीयता, लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन पनि सरकारमाथि दबाब दिनु आवश्यक रहेको उनको जिकिर थियो ।
गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताल नामेट पार्न कम्युनिष्ट सरकार लागेको शर्माको आरोप थियो । ‘‘हिजो सरकारले यो गल्ति सच्चाएको भन्ने समाचारहरु आएका छन् तर त्यसबारे कांग्रेसलाई औपचारिक जानकारी आएको छैन,” उनले भने । प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा पनि संवैधानिक परिषदको बैठक बसेर निर्णय गरिनु संविधान विपरित भएको शर्माको भनाइ थियो ।
देशव्यापी रुपमा हत्या, हिंसा र बलात्कारका घटना बढिरहेको तर सरकारले अपराधी पक्रन नसकेको कांग्रेसको आरोप छ । वाइडबडी लगायत भ्रष्टाचार, घोटाला अनि दिनदिनै बढिरहेको महंगीविरुद्ध माघ २१ गतेकाे प्रदर्शन केन्द्रीत हुने शर्माले बताए ।
बुढीगण्डकी परियोजना निर्माण गर्ने ठेक्का चिनियाँ कम्पनी गेजुवालाई दिँदा अनियमितता भएको भएको कांग्रसको आरोप छ । पत्रकार सम्मेलनमा शर्माले भने, ‘‘कांग्रेसको सरकार भएका बेला राष्ट्रिय योजना आयोगका तत्कालीन् उपाध्यक्ष स्वर्णीम वाग्लेले बुढीगण्डकी परियोजना नेपाल भित्रकै लगानीमा बन्न सक्ने भनी दिएको सुझावलाई बेवास्ता गर्दै चीनको गेजुवा कम्पनीलाई दिएबाट त्यहाँ घोटाला भएको हुन सक्ने आशंका उत्पन्न भएको छ ।” त्यसमा छानबीन हुनुपर्ने कांग्रेसको माग रहेको पनि शर्माले जानकारी दिए ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने तर चाहिनेभन्दा बढी रुख काटिनु नहुने, प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री र मुख्यमन्त्रीमध्ये कसको आदेश मान्ने दुविधा उत्पन्न गराइनु नहुने कांग्रेसको भनाइ छ ।
प्रदेश ५ को सरकारले गाडी खरिद गर्दा लाखौं घोटाला भएको आशंका भएको र त्यससम्बन्धी कागजात अख्तियारले माग्दा उपलब्ध नगराइएको उल्लेख गर्दै त्यसमा निष्पक्ष छानविनको माग कांग्रेसले गरेको छ ।






