Kathmandu Press

धवलागिरि हिमाल आरोहीलाई सम्मान

धवलागिरि हिमाल आरोहीलाई सम्मान

काठमाडौं, असोज १८ : संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलालाई आज बेनीमा सम्मान गरिएको छ। धवलागिरि गाउँपालिका–४ मा पर्ने हिमालमा यही असोज १५ गते बिहान ६ः०० बजे गोरखाकी पूर्णीमा श्रेष्ठ र सोलुखुम्बुकी पासाङलामु शेर्पाले सफल आरोहण गरेका थिए ।  

हिमाल आरोहण गरेर हेलिकप्टरमार्फत काठमाडौं जाने क्रममा बेनी आएकी पूर्णीमालाई म्याग्दी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र धौलागिरि पर्यटन परिषद्का तर्फबाट सम्मान गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजेश शाक्य, पत्रकार महासङ्घका शाखा सचिव सन्तोष गौतम, प्रदेश परिषद् सदस्य विक्रम बोगटी र धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले पूर्णीमा र पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपाली पाइलट बेनीका सोवित गौचनलाई सम्मान गरेका थिए। 

Hardik ivf

दुवै जनाले हिमाल आरोहणमा कीर्तिमान बनाएर म्याग्दीको पहिचान दिलाउन योगदान गरेकाले सम्मान गरिएको अध्यक्ष बानियाँले बताए। काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर गएकी पूर्णीमा १७औँ दिनमा आज काठमाडौं फर्किएका छन्। 

पूर्णिमा र पासाङले धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाएका सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले बताए। धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेका थिएनन्। 

पत्रकार गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएको थियो। टासी शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन्। पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत फोटो पत्रकार हुन्। 

उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् । प्रतिकूल मौसमका बाबजुद पनि धवलागिरि आरोहण सफल भएकामा खुसी व्यक्त गर्दै पूर्णिमाले अब नेपालमा रहेका आठ हजार मिटर भन्दा बढी उचाइ भएका सबै हिमाल आरोहण गर्ने योजना सुनाइन्।

यसैगरी २०७८ वैशाख २८ गते संसारको अग्लो सगरमाथा हिमालको सफल आरोहण गरेका बेनी निवासी पाइलट सोबित गौचनलाई आइतबार थकाली सेवा समिति बेनी क्षेत्रले सम्मान गरेको छ । हेली एभरेष्टका पाइलट गौचन सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पाइलट हुन्।

थकाली सेवा समिति नेपालले आयोजना गरेको ११औँ तोरन्ल्ह गोल्डकप प्रतियोगिताको समापन समारोहमा समितिका अध्यक्ष सोमप्रसाद तुलाचन, पूर्वराज्यमन्त्री भीमप्रसाद गौचन, समितिका पूर्व अध्यक्ष कृष्णकुमारी शेरचन र बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले सम्मानपत्र प्रदान गरेका थिए। 
 

प्रकाशित मिति: १३:४० बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्