पूर्णरूपमा खुल्यो जमुनाह नाका

राँझा, असोज १७ : नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका जमुनाह आजदेखि पूर्णरूपमा खुला भएको छ। सरकारद्वारा भएको भारतसँगको नाका खोल्ने औपचारिक निर्णयलाई कार्यान्वयन गर्दै आजदेखि नेपालगञ्जस्थित जमुनाह नाका पूर्णरूपमा खुला गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।
उनका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर आवागमनका लागि नाका पूर्णरूपमा खुला गरिएको छ। कोरोनापूर्वकै अवस्थामा नाकालाई सञ्चालनको निर्णय गरिए पनि स्वस्थ मापदण्डमा भने कडाइ नै रहनेछ।
कोरोना सङ्क्रमण बढेपछि भारतीय सवारी नेपाल प्रवेश र नेपाली सवारी भारत प्रवेशमा रोक लगाउँदै आइएको थियो। विगतमा खाद्यान्नलगायत सामग्री बोक्ने सवारी साधन निर्वाधरूपमा सञ्चालन भए पनि निजी गाडी नेपाल प्रवेशमा भने रोक लगाइएको थियो।
भारतले पनि नेपाली निजी सवारी साधन प्रवेशमा रोक लगाउँदै आएको थियो। यसअघि नाकामा पैदलयात्रुलाई मात्र आउजाउ गर्न दिइएको थियो। भारतीय सुरक्षा बल एसएसबीले पनि नाकामा सवारीसाधन चल्न दिने भनेर माथिल्लो तहबाट निर्देशन आइसकेको जानकारी दिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए।
मन्त्रिपरिषद्को बैठकले विभिन्न मापदण्ड पूरा गरेर भारतीय निजी सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो। सोही निर्णयानुसार जमुनाह नाका भएर सवारी साधन सञ्चालन भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।












