वीर अस्पतालले वर्षमा कति बिरामीलाई सेवा दिन्छ ?
निर्देशक भुपेन्द्र बस्नेत भन्छन्– अस्पतालमा दैनिक १००० भन्दा बढी बिरामी उपचारका सिलसिलामा आउँछन् । पछिल्लो २६ महिनामा ६ लाख १२ हजार बिरामीले सेवा लिए ।
काठमाडौं, असोज १७ : ११ असोजको बिहान १२ बज्नै लाग्दा चन्द्रागिरी नगरपालिका दहचोककी ६० वर्षीया शान्तिदेवी खनाल वीर अस्पतालको गेटमा हातमा पिसाबको बट्टा लिएर उभिइरहेकी थिइन् । अस्पतालमा यति भीड थियो, उनले बस्ने ठाउँ पाएकी थिइनन् । उनका ६६ वर्षीय श्रीमान् टीकाराम खनाल काउन्टरमा पैसा बुझाउने लाइनमा उभिएका थिए ।
शान्तिदेवीका दम्पती चन्द्रागिरीदेखि बिहान ९ बजे नै वीर अस्पताल आइपुेका हुन् । ‘लाइनमा बस्नुपर्छ भनेर ९ बजे नै आएका थियौँ,’ शान्तिदेवीले भनिन्, ‘मलाई पाठेघरको रोग छ । यो पिसाब चँजाएको रिपोर्ट आएपछि के गर्ने भनी थाहा हुन्छ । हाम्रा लागि यही अस्पताल सस्तो पनि छ, राम्रो पनि छ । त्यसैले, हेर्नुस् न यत्रो भीड छ ।’
उनका श्रीमान्लाई पनि थाइराइडको समस्या छ । आफूहरूले पछिल्ला १४ वर्षदेखि यही अस्पतालमा उपचार गराइरहेको उनले बताइन्।

‘लिभर सिरोसिस’का बिरामी ५२ वर्षीय दीपक पौडेल डाक्टरलाई भेट्ने पालो पर्खिरहेका थिए । उनलाई लिएर आउने उनका छोरा रमेश पौडेल भन्छन्, ‘निजी अस्पताल महँगा छन्, त्यसैले सरकारी अस्पताल आइरहेका छौँ । लाइन बस्नुपरे पनि सेवा राम्रो छ, शुल्क सस्तो ।’
वीर अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतका अनुसार, अस्पतालमा दैनिक एक हजार भन्दा बढी बिरामी उपचारका सिलसिलामा आउँछन् । ‘हामीले जतिसक्दो छिटो र सहज ढंगबाट उपचार सेवा दिने कोसिस गरिरहेका छौं,’ उनले भने, ‘पुरानो अस्पताल भएकाले विश्वास र गुणस्तर कायम गरिराख्न हामीलाई चुनौती छ ।’
२६ महिनामा ६ लाख १२ हजार ६१
पछिल्लो २६ महिना (आर्थिक वर्ष ०७६/७७ देखि यही असोज को ७ गतेसम्म) मा वीर अस्पतालबाट ६ लाख १२ हजार ६१ जनाले सेवा लिएका छन् । जसमा इमर्जेन्सी अन्तर्गत ६८ हजार ७ सय १६ जना, ओपिडीमार्फत ५ लाख ४३ हजार एक सय ४४ र अस्पतालमै भर्ना हुने २२ हजार ६ सय ७९ रहेका छन् ।

यस्तै, दुई सय एक जनाले चिकित्सकसँग सल्लाह मात्र लिएका छन् । निर्देशक बस्नेत भन्छन्, ‘डाक्टरलाई भेट्नका लागि मात्र पनि टिकट लिनुपर्छ । त्यसैले सल्लाहका लागि आउने बिरामीले पनि टिकट लिन्छन् ।’
कुन आर्थिक वर्ष कति ?
वीर अस्पतालमा आर्थिक वर्ष २०७६/७७ मा तीन लाख ३७ हजार एक सय ५१ जनाले सेवा लिएका छन् । जसमध्ये इमर्जेन्सीमा ३८ हजार ५ सय १०, ओपिडी सेवामा दुई लाख ९८ हजार चार सय ४० छन् । त्यस्तै, अस्पतालमा भर्ना हुनेमा १० हजार ९ सय ४१ जना छन् । एक सय ९३ जनाले भने टिकट लिएर पनि सेवा लिएका छैनन् ।
०७७/७८ मा दुई लाख ५ हजार ५ सय ३९ ले सेवा लिएका छन् । जसमा २३ हजार २७ जनाले इर्मेजेन्सी सेवा लिएका छन् । एक लाख ८२ हजार ५ सय १२ जनाले ओपिडिमार्फत सेवा लिएका छन् । अस्पतालमा भर्ना हुनेमा ८ हजार ६ सय २६ जना छन् ।
चालू आर्थिक वर्षको असोज ७ सम्ममा ६९ हजार तीन ७१ जनाले सेवा लिएका छन् । जसमा सात हजार एक सय ७९ जनाले इर्मेजेन्सी, ६२ हजार एक सय ९२ जनाले ओपिडिमार्फत सेवा लिएका छन् । यस वर्ष दुई महिनामा तीन हजार एक सय १२ जना अस्पताल भर्ना भएका छन् ।
चालू आर्थिक वर्षमा ३९ हजार चार सय ७२ नयाँ बिरामी आएका हुन् भने २९ हजार आठ सय ९९ जना फलोअपका लागि आएका हुन् ।












-(86)-1764936079.jpg)