Kathmandu Press

तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने

तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने

दमौली, असोज १७ : कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो। 

कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेबिजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार व्यास नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ। ‘कुकुर पाल्ने र बीचमा जथाभावी छाडिदिने समस्या व्यापक छ, त्यसले गर्दा सडकमा दुर्घटनाको जोखिम पनि बढाएको छ,’ उनले भने, ‘त्यसो गर्दा रेबिजको जोखिम पनि उत्तिकै बढ्छ।’

कुकुर बिरालो मानिसका साथी भएकाले यिनीहरुलाई माया गर्नुपर्ने र वर्षको एकपटक सामुदायिक र घरपालुवा कुकुर, बिरालोहरुलाई रेबिजविरुद्धको खोप लगाउनुपर्ने विज्ञ केन्द्रले अनुरोध गरेको छ। रेबिज रोगको लक्षण देखापरिसकेपछि कुनै उपचार नभएको र मृत्यु निश्चित भएकाले हेलचेक्र्याइँ गर्न नहुने पशु प्राविधिकको भनाइ छ। 

Hardik ivf

रेबिजविरुद्ध खोप अभियान

तनहुँमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरेको हो। 

अभियानका क्रममा कार्यालयले तीन सय ९५ जनावरलाई रेबिज खोप लगाएको विज्ञ केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुकुर, बिरालो, बाँदरलाई खोप लगाइएको छ। 

अभियानका क्रममा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा सामुदायिक, घरपालुवा कुकुर, बिरालो र बाँदरलाई रेबिजविरुद्धको खोप लगाइएको श्रेष्ठले बताए। उनका अनुसार व्यास नगरपालिकामा मात्रै एक सय ४८ कुकुर बिरालोलाई खोप लगाइएको छ। ८८ सामुदायिक, ५० घरपालुवा कुकुर, आठ बिरालो र दुई बाँदरलाई रेबिजविरुद्धको खोप लगाइएको छ। 

त्यस्तै शुक्लागण्डकीमा ७०, बन्दीपुरमा एक सय तीन, आँबुखैरेनीमा ६५ कुकुर बिरालोलाई खोप लगाइएको श्रेष्ठले बताए। 

नेपालमा सन् २०३० सम्म रेबिज उन्मूलन गर्ने लक्ष्य लिइएको छ। नेपालमा ९९ प्रतिशत कुकुरको टोकाइबाट रेबिज हुने गरेको छ। बर्सेनि दुई सय जनाको रेबिज लागेर निधन हुने गरेको तथ्याङ्क छ। रासस
 

प्रकाशित मिति: १४:५५ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्