गान्धी जयन्तीमा स्वराज्य र मेलमिलापबारे अन्तर्क्रिया
१५२ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा महात्मा गान्धी स्मृति प्रतिष्ठान नेपाल र संकट व्यवस्थापन अध्ययन संस्था (आईसीएमएस) समर्पण एकेडेमीले शनिबार संयुक्त कार्यक्रम आयोजना गरे ।
काठमाडौं, असोज १६ : १५२ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा महात्मा गान्धी स्मृति प्रतिष्ठान नेपाल र संकट व्यवस्थापन अध्ययन संस्था (आईसीएमएस) समर्पण एकेडेमीले शनिबार संयुक्त कार्यक्रम आयोजना गरे ।
कार्यक्रममा ‘स्वराज्य र मेलमिलाप नेपालको सन्दर्भ’ नामक संगोष्ठी सञ्चालन भएको थियो । कार्यक्रम गान्धी क्विज फाउन्डेसनका अध्यक्ष लालबहादुर रानाले स्वागत मन्तव्य राख्दै कार्यक्रम सुरु गरेका थिए । संगोष्ठीमा लेखक केशवप्रसाद चौलागाईं र संकट व्यवस्थापन अध्ययन संस्था (आईसीएमएस) समर्पण एकेडेमीका अध्यक्ष डा. राम थपलियाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
चौलागाईंले ‘स्वराज्य र मेलमिलाप’का विषयमा कार्यपत्र प्रस्तुत गरे । नीति निर्माणमा गान्धीवादको आवश्यकता रहेको उनले बताए । गान्धीका सिद्धान्त कसरी नीति नियममा अवलम्बन गर्न सकिन्छ भनेर खोजी गर्नुपर्नेमा उनले जोड दिए ।
स्वराज्य तथा अहिंसाको नीतिबाटै गान्धीले भारतलाई बेलायतको उपनिवेशबाट स्वतन्त्र गराउन सकेको उनले बताए । सोही कारण वर्तमान परिस्थितिमा आन्दोलन र विरोधलाई गान्धीवाद अपनाउँदै शान्ति र अहिंसा अनुसरण गर्नुपर्ने उनको धारणा छ ।
एकेडेमीका अध्यक्ष डा. थपलियाले पनि चौलागाईंकै विचारमा समर्थन जनाए । कार्यपत्र प्रस्तुत गर्दै उनले बदलिँदो समाजमा एकले अर्कोको अस्तित्वलाई स्वीकार्न र सम्मान गर्न सके त्यही नै स्वराज्य हुने बताए । गान्धीवाद र अहिंसा पनि एकअर्कोप्रतिको अस्तित्व र सम्मानमै आधारित भएको उनको तर्क छ ।
नेपालमा गान्धीवादका प्रणेता हुन्, तुल्सीमेहर श्रेष्ठ । करिब चार वर्षको महात्मा गान्धीसँगको बसाइ र सिकाइबाट प्रभावित भई तुल्सीमेहरले नेपालमा आइर ‘चर्खा आन्दोलन’ सुरु गरेका थिए । नेपालको वर्तमान अवस्था र तत्कालीन भारतको अवस्था एकै रहेको कारण पनि गान्धीवादको आवश्यकता रहेको उनले जनाए ।
कार्यक्रममा जुद्ध राईले प्रस्तुत भएका कार्यपत्रमा गान्धीवादलाई हिन्दुकरण नगरी राष्ट्रिय एजेन्डाको रूपमा लैजान सुझाव दिए । गान्धीवादलाई देवत्वकरण गर्ने क्रममा हिन्दु सम्प्रदायसँग सम्बन्धित रहेको भाष्यलाई परिवर्तन गर्नुपर्ने विषयमा उनले ध्यानाकर्षण गराए ।
हरेक वर्ष २ अक्टोबरलाई गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइँदै आएको छ । अहिंसावादी गान्धीले ‘नन भाइलेन्स मुभमेन्ट’ बाटै बेलायतीहरूलाई भारत छोड्न बाध्य बनाएका थिए । सोही कारण उनी पाँच पटकसम्म नोबल शान्ति पुरस्कारका लागि मनोनित भएका थिए । कार्ल मार्क्स, आइन्स्टाइनसँगै महात्मा गान्धीको नाम पनि शताब्दी पुरुषमा अंकित छ ।
हिंसा र द्वन्द्व व्यवस्थापनमा समेत गान्धीवादका सिद्धान्तको अहम् भूमिका रहेको पूर्वमन्त्री गणेश शाहले बताए । ‘गान्धीवादको प्रभाव यसरी बढ्दै गएको छ कि दक्षिण एसिया अझ विशेष गरी भारतमा १० वर्षअघि मेलमिलाप ऐन नै बनाइएको छ,’ उनले भने ।












