Kathmandu Press

पक्की पुल र सडक नबन्दा झोलुंगोमा बिरामी बोक्नुपर्ने बाध्यता

पक्की पुल र सडक नबन्दा झोलुंगोमा बिरामी बोक्नुपर्ने बाध्यता

सर्लाही, असोज १६ : भौगोलिक रूपले विकट सर्लाहीको चुरे क्षेत्रका बासिन्दाले बिरामी बोक्न अझै झोलुङ्गोमै भर पर्नुपर्ने बाध्यता छ।

सडककोे अभाव र खोलानालामा पक्की पुल नबन्दा यहाँको बस्तीमा बिरामी बोक्न अझै पनि झोलुङ्गोको प्रयोग भइरहेको हो। 

Hardik ivf

दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक बनावटका कारण पटकपटक बनाइएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ। 

वर्षाका बेला खोला तरेर झोलुंगोमा बिरामी लैजान पनि कठिन हुँदै आएको छ। दैनिक उपभोग्य सामग्री ल्याउन समस्या हुनाका साथै उत्पादित खाद्यपदार्थ  बजार लान समस्या हुने स्थानीयवासी चर्तुमान घिसिङले बताए।

गाउँमा कोही बिरामी परे यसरी नै मिलेर झोलुंगोमा पालैपालो बोकेर पूर्वपश्चिम लोकमार्ग छेउछाउका स्वास्थ्य संस्थामा पुर्‍याउन हामी बाध्य छौं तर खोलामा बाढी आउँदा भने ज्यान नै जोखिममा पारेर बिरामी तथा दैनिक उपभोग्य सामग्री पार लगाउनुपर्ने बाध्यता रहेको अर्का स्थानीयवासी चन्द्र वाइबाको भनाइ थियो। 

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या अझैसम्म विद्यमान छ। ती क्षेत्रमा भरपर्दो स्वास्थ्य संस्था नहुँदा बिरामीलाई झोलुङ्गोमा बोकेर लैजानुपर्छ तर कहिलेकाही  बाढी आएर बगाउने अवस्था रहेको लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष सुवाई सिंह ब्लोनले बताए।

प्रदेश २ कै कर्णाली भनेर चिनिने नारायण खोलामा बाटो बनाउने काम भइरहेको छ भन्दै नगर प्रमुख मानबहादुर खड्काले त्यहाँका विकास लागि आफूहरुले सबै शक्ति लगाएर कार्य गरिरहेको जानकारी दिए।

उहाँका अनुसार स्थायी बाटो बनाउने योजना बनाइएकामा  यो वर्ष १४ किलोमिटर बाटो निर्माण भइसकेको र पुलका लागि टेण्डर आह्वान भइसकेको छ। चाडपर्वमा स्थानीयवासीलाई आवतजावतमा समस्या हुन नदिन  तत्काल अस्थायी बाटो तयार पारिने छ।

प्रकाशित मिति: १५:०६ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्