अपहरणमा परेका भारतीय नागरिकको उद्धार

राजविराज, असोज १६ : अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ।
अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत-९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो।
सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए।
नेपाल-भारत सीमाअन्तर्गत रामनगर कोदरकट्टीमा झाडीमा खुट्टामा साङ्लोले बाँधी लडाइँ राखिएको अवस्थामा साह भेटिएका हुन्।
साहलाई अज्ञात समूहले अपहरण गरी नेपालको दसगजा ल्याएको भारतीय सुरक्षाकर्मीले सूचना दिएपछि सशस्त्र प्रहरी निरीक्षक लालबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले उनको उद्धार गरेको हो।
उक्त स्थानमा एक थान मोबाइल सेट पनि भेटिएको श्रेष्ठले बताए। अपहरणमा परेका साहलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।












