Kathmandu Press

औद्योगिक अवस्थिति प्रतिवेदन सार्वजनिक

काठमाडौं, असोज १५ : प्रमुख औद्योगिक क्षेत्रका गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसङ्घले पहिलो ‘आद्योगिक अवस्थिति प्रतिवेदन’ सार्वजनिक गरेको छ। परिसङ्घले त्रैमासिकरूपमा सार्वजनिक...
औद्योगिक अवस्थिति प्रतिवेदन सार्वजनिक

काठमाडौं, असोज १५ : प्रमुख औद्योगिक क्षेत्रका गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसङ्घले पहिलो ‘आद्योगिक अवस्थिति प्रतिवेदन’ सार्वजनिक गरेको छ। परिसङ्घले त्रैमासिकरूपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अङ्क राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले सार्वजनिक गरेका हुन्।

गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जा क्षेत्रका उद्योगको अवस्थाका विषयमा प्रतिवेदनमा विस्तृत तथ्याङ्क समेटिएको छ। यस प्रतिवेदनले उक्त अवधिमा उद्योगले कूल उत्पादन क्षमताको ६४.८ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ।

Hardik ivf

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमासमा उद्योगको आय वृद्धिदर आठ प्रतिशतले बढेको देखाएको तर त्यसअघिको वर्षको चौथो त्रैमासमा भने उद्योगको आय ४.७ प्रतिशतले ऋणात्मक थियो। प्रतिवेदनले व्यवसायको क्षमता उपयोगमा कोभिड–१९ को महामारीको प्रत्यक्ष असर परेको र यो अवस्था सुधारोन्मुख रहेको देखाएको छ। 

अध्ययनमा सहभागी भएकामध्ये ८३ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन्। यसैगरी ६९.७ प्रतिशत उद्योगले जेनेरेटरबाट ऊर्जा उत्पादन गरी उद्योग सञ्चालन गरिरहेको अध्ययनले देखाएको छ। यसले उद्योगको उत्पादन लागत ४.९ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ। 

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा पौडेलले निजी क्षेत्रले गरेका यस्ता अध्ययनले अर्थतन्त्र कसरी सञ्चालन भइरहेको छ भन्ने यथार्थ विवरण प्रस्तुत गर्ने बताए। यसैगरी निजी क्षेत्रबाट आउने यस्ता प्रतिवेदनले निजी क्षेत्रले कसरी काम गरिरहेको छ भन्ने जानकारी सरकारलाई दिने उल्लेख गरे। उनले प्रतिवेदनको निरन्तरताका लागि आग्रह पनि गरे। 

‘अहिले सरकार पनि तथ्याङ्कमा आधारित काम गर्न सरकार लागिरहेको छ,’ उनले भने, ‘तथ्याङ्कमा आधारित शासन नै सुशासन हो, हामी तथ्याङ्कमा आधारित रहेर नीति तर्जुमा गर्न खोजिरहेका छौँ।’  यसैगरी परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले यस प्रतिवेदन निजी क्षेत्रले थिङ्क ट्याङ्कको रूपमा कसरी काम गरिरहेको छ भन्ने देखाउने बताए। उनले परिसङ्घको तर्फबाट सुझाव मात्रै दिने नभइ उद्योगको यथार्थ चित्रणसमेत प्रस्तुत गर्न खोजेको उल्लेख गरे। 

अध्यक्ष अग्रवालले परिसङ्घले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले आगामी अङ्कमा थप क्षेत्रलाई समेट्दै अध्ययनलाई विस्तृत बनाउँदै लैजाने बताए। यसैगरी परिसङ्घका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले औद्योगीकरणका लागि सरकारसँग हातेमालो गर्न परिसङ्घ सधैँ तयार रहेको उल्लेख गरे। उनले अहिले अर्थतन्त्रमा सङ्कट देखिएको भन्दै त्यसलाई सबै पक्ष मिलेर समाधान गर्नुपर्नेमा जोड दिए।

नेपालको औद्योगिक क्षेत्रको आवधिक तथ्याङ्क नभएको अवस्थामा परिसङ्घले पहिलोपटक यस्तो प्रतिवेदन तयार गरेको हो। परिसङ्घ अन्तर्गतको रिसर्च सेलले उद्योगसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार गरेको छ। यस प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति तर्जुमाका लागि सहयोग गर्ने परिसङ्घको विश्वास छ। यसैगरी प्रतिवेदनले उद्योग क्षेत्रको बदलिँदो अवस्थाको जानकारी पनि दिएको छ। 

प्रकाशित मिति: २०:४८ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्