जिम्मेवारी पूरा नगर्ने कर्मचारीको जागिर खोसिन्छ : मन्त्री पण्डित
काठमाडौं, साउन १७ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका....
काठमाडौं, साउन १७ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका छन्।
शुक्रबार मन्त्रालयमा आयोजित वार्षिक कार्य प्रगति समिक्षात्मक बैठकमा मन्त्री पण्डितले कार्य क्षमताको अभाव भएका कर्मचारीलाई बिदा गर्ने स्पष्ट पारेका हुन्। उनले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कुनै पनि किसिमको छुट दिन नसकिने चेतावनी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौता गरेको स्मरण गराउँदै मन्त्री पण्डितले त्यसलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई निर्देशन दिए। तोकिएको काम पूरा नभए सम्बन्धित कर्मचारीमाथि कडा कारबाही हुने मन्त्री पण्डितको भनाइ छ।
मन्त्री पण्डितले समायोजनामा गएका कर्मचारीहरुको तह र श्रेणीको तलवमा देखिएको समस्या एक हप्ताभित्र समाधान गर्ने आश्वासन पनि दिए। उनले कर्मचारीहरुको सुविधामा कुनै समस्या नहुने तर तोकिएको जिम्मेवारी पूरा नगरे कडा कारबही हुने स्पष्ट पारे।
मन्त्री पण्डितले गत वर्ष आफ्नो मन्त्रालयले व्यवस्थापकीय काममा उल्लेख्य प्रगति गरेको दाबी गर्दै चालू आर्थिक वर्षमा विकास निर्माणको कामलाई तीव्रता दिने पनि बताए।






