Kathmandu Press

समता संवाद शृंखला : दलित महिलाले आन्दोलनमा दिएको योगदान मूल्यांकन नभएको गुनासो

समता फाउन्डेसनले सञ्चालन गरेको संवाद शृंखला–१४ मा ‘महिला आन्दोलनमा दलित महिला’बारे बहस भएको छ।
समता संवाद शृंखला : दलित महिलाले आन्दोलनमा दिएको योगदान मूल्यांकन नभएको गुनासो

काठमाडौं असोज १५ : समता फाउन्डेसनले सञ्चालन गरेको संवाद शृंखला–१४ मा ‘महिला आन्दोलनमा दलित महिला’बारे बहस भएको छ ।

भर्चुअल माध्यमबाट सञ्चालन भएको छलफलका वक्ताहरूले महिला आन्दोलनमा दलित महिलाको योगदानबारे मूल्यांकन नभएको गुनासो गरेका छन् ।

संघीय सांसद निरा जैरूले नेपालमा विभिन्न आन्दोलनमा दलित महिला जोडिएको तर्क बताइन् । ‘सिंगो आन्दोलनभित्र दलित समुदायका महिलालाई हेर्ने दृष्टिकोणमा विभेद छ,’ उनले भनिन् ।

Hardik ivf

उनका अनुसार दलित महिला दोहोरो विभेदमा छन् । पछिल्लो समय निर्मला हत्याकाण्ड, सम्झना विकको हत्या उदाहरण भएको उनले बताइन् । ‘निर्मला हत्याकाण्डविरुद्ध समग्र नेपाली समाजले आवाज उठायो तर सम्झना विकको हत्याकाण्डविरुद्ध दलित समुदायले मात्र आवाज उठाएको छ,’ उनले भनिन्, ‘जबसम्म दलित महिलाको विषय सबैको साझा सवाल बन्दैन, तबसम्म उनीहरूलाई जीवन जिउन सकस छ । सरकारले दलित समुदायलाई कोटा दिएका कारणले मात्रै कुनै–कुनै पदमा राखिएको हो ।’

दलित महिलाले देशमा कम योगदान दिएको मान्यता राख्ने गरिएको उनको भनाइ थियो । ‘राज्यले नै दलित महिलालाई विभेद गरेको छ,’ उनले भनिन् ।

पछाडि परेका महिलालाई हरेक दलित समुदायका पुरुषले हातेमालो गरेर अगाडि बढाउनुपर्ने उनको तर्क थियो । शिक्षामा दलित महिलाको पहुँच बढाउनुपर्ने उल्लेख गर्दै जैरूले सामाजिक आन्दोलनले दलित महिलाका बारेमा बोल्नुपर्ने बताइन् । ‘दलित मुद्दामा सबै गैरदलित समुदाय बोलेको दिन देशमा परिवर्तन आउँछ,’ उनले भनिन् ।

विगतमा महिलाका मुद्दालाई प्रथामिकता दिन मिठाइ विश्वकर्मा, मिना विश्वकर्मा, लक्ष्मी नेपालीले ठूलो योगदान दिएको उनले उल्लेख गरिन् । ‘तर, नयाँ पुस्ताले उनीहरूलाई चिन्दैन । समाज रूपान्तरणको क्रममा दलित समुदायका महिलाले दिएको योगदान आज कुनै दस्तावेजमा उल्लेख छैन,’ उनले भनिन्, ‘समाजमा योगदान दिएका र सहिद भएका दलित महिलाको दस्तावेज बनाउनु आवश्यक छ ।’

देशमा भएका हरेक आन्दोलनमा महिला र दलित महिलाले सक्रिय भूमिका वहन गरेको संघीय सांसद लक्ष्मी परियारले बताइन् । ‘इतिहासलाई हेर्दा समग्र रूपमा महिलाको हकहित स्थापित गर्न दलित महिलाको ठूलो योगदान छ,’ उनले भनिन्, ‘तर, अहिले महिला नेतृत्वका आवाज नसुन्ने, महिलालाई पदीय व्यवहार नगर्ने र उनीहरूका कुरा नमान्ने प्रथा कायम छ ।’

महिलामाथिको विभेद र जातीय विभेदका कुरा उठाउँदै आएका दलित महिलाको भूमिकालाई गहन रूपमा नलिने गरिएको बताउँदै परियारले दलित महिलाले आन्दोलनमा सक्रिय भूमिका वहन गरे पनि त्यसअनुसारको प्रतिफल पाउन नसकेको धारणा राखिन् ।

‘दलित महिला एकीकृत हुन नसकेका हुन् कि भन्ने लाग्छ । दलितभित्र पनि महिलाको ठाउँ कहाँ छ भन्ने अन्योल छ,’ परियारले भनिन्, ‘महिलाभित्र पनि दलित महिला एकजुट भएर अगाडि बढ्नुपर्छ ।’

वादी समुदायको मुक्ति आन्दोलनकी एक पात्र हुन्, हाल डडेलधुराको अजयमेरू गाउँपालिकाकी उपाध्यक्ष कलावती भाँड । वादी समुदाय पनि नेपालका नागरिक हुन् भन्ने विषयमा आवाज उठाइएको उनले बताइन् । ‘वादी महिलालाई  बसोवासका लागि जग्गा दिइने योजना अधुरै छ,’ उनले भनिन्, ‘यौन व्यवसायमा लागेका वादी समुदायका महिलालाई रोजगारीको व्यवस्था गर्ने भने पनि कार्यान्वयन भएको छैन ।’

हरेक आन्दोलनमा अग्रपंक्तिमा रहने दलित महिलाहरू राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित रहेको उनले बताइन् । ‘राज्यले सकारात्मक सोच लिएर विभेद नगरी अगाडि बढेमा परिवर्तन आउँछ,’ उनले भनिन् ।

सञ्चारकर्मी रूपा गहतराजले दलित आन्दोलनमा पनि महिला र पुरुषबीच विभेद रहेको औँल्याइन् । ‘सामाजिक आन्दोलनबाट आएका महिलाको पहिचान हुन नसकेको हो कि भन्ने लाग्छ,’ उनले भनिन्, ‘दलित महिला आन्दोलनको जग तयार पार्ने पुरानो पुस्तालाई नयाँ पुस्ताले मूल्यांकन गरेको छैन ।’

मिठाइदेवी विश्वकर्मा ०११ सालमा सामाजिक आन्दोलनमा निकै सक्रिय भूमिकामा थिइन् । उनको बारेमा नयाँ पुस्तालाई जानकारी नै नभएको गहतराजले बताइन् ।

मुलधारका सञ्चार माध्यमले राजनीति र सामाजिक मुद्दालाई प्राथामिकता दिएका छन् । त्यसमा पनि दलित र मधेशी महिलाको विषयलाई बढी प्राथमिकता दिँदै आएको उनले उल्लेख गरिन् । ‘दलित महिलाको समस्या खुला रूपमा बाहिर आउनुपर्छ । त्यसपछि समस्याको समाधान खोजिन्छ,’ उनले भनिन्, ‘दलित समुदायको मुद्दा बाहिर नआएकाले समस्याको समाधान खोज्न सकिएको छैन ।’

प्रकाशित मिति: १७:२८ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्