प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति

काठमाडौं, असोज १५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले २२औ राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले उद्घाटन गरेर सुरु भएको सम्मेलन असोज ६ गतेदेखि ९ गतेसम्म पोखरामा सम्पन्न भएको आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो।
सम्मेलनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले सम्मेलनले २१औं राष्ट्रिय सम्मेलनबाट प्रस्तावित वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक खाका प्रस्तु्ुत गरेको जानकारी दिए।
उनले शिक्षालाई पछिल्लो समयमा व्यापारको हिसाबले हेरिएको र सो विषयको सम्मेलनमा उठान गरेको जानकारी दिए। उनले भने, ‘वैज्ञानिक समाजवादी शिक्षा वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै सुनिश्चित् हुने हुँदा वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्क्रिमा लामबद्ध हुन विद्यार्थीहरुलाई अपिल छ।’
अनलाइन शिक्षाको नाममा भइरहेको लुट र विभेदलाई नियन्त्रण गरि तत्काल भौतिक कक्षा सञ्चालन गर्नसमेत उनले जोडदार माग गरे। सरकारले जनताको कुनै पनि समस्याको समाधान गर्न नसकेको आरोप लगाउदै उनले सरकारबाट मुठ्ठीभरका मानिसहरुले मात्र लिइरहेको पनि आरोप लगाए।
देशको विद्यमान शिक्षा क्षेत्रले सम्पूर्ण विद्यार्थीको भविष्य सुुनिश्चित् गर्न नसक्ने उनको ठहर छ। उनले दुर्गम क्षेत्रका विद्याथीहरुको पढाइको स्तर खस्किनुमा पढ्नलाई भौतिक सुविधा नभएको उल्लेख गरे। उनले देश कोरोना संकटबाट आक्रान्त बनेको बेला संक्रमित सबै नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्नुको साथै सम्पुर्ण नागरिकलाई कोरोना खोपको अनिवार्य व्यवस्था गर्न माग गरे।












