नेपाली सेनामा पुजारी
प्रधानमन्त्री तथा विशिष्ट व्यक्तिले हवाई सेवा लिने दिन नेपाली सेनाका पण्डितद्वारा विशेषपूजा गरिन्छ। पण्डितले आकाश देउताको पूजा गरी टीका प्रसाद दिएपछि मात्र विशिष्ट व्यक्तिले हवाई सेवा प्रयोग गर्छन्।
काठमाडौं, असोज १५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सैनिक हवाई महानिर्देशनालयमा विगत डेढ वर्षदेखि पूजापाठ गर्दै आएका छन्, ३९ वर्षीय जमदार दिनेश घिमिरेले। उनले त्यहाँ दैनिक नित्य पूजापाठ गर्छन्। उनी सहायक पण्डित हुन्। उनी भन्छन्, ‘नेपालका मात्र नभई अन्य देशबाट आउने विशिष्ट व्यक्तिलाई विमानस्थलमा सेनाका पण्डितबाट टीका–प्रसादले सम्मान गरिन्छ।’
उनका अनुसार, प्रधानमन्त्री तथा विशिष्ट व्यक्तिले हवाई सेवा लिने दिन नेपाली सेनाका पण्डितद्वारा विशेषपूजा गरिन्छ। पण्डितले आकाश देउताको पूजा गरी टीका प्रसाद दिएपछि मात्र विशिष्ट व्यक्तिले हवाई सेवा प्रयोग गर्छन्।
जमदार घिमिरे १७ वर्ष (२०६१) देखि नेपाली सेनाको पण्डित सेवामा कार्यरत छन्। विमानस्थलको भिआइपी कक्षबाट आउने–जाने विशिष्ट व्यक्तित्वलाई टीका–प्रसादले स्वागत तथा दैनिक पूजापाठ नै उनको ‘ड्युटी’ हो।
दोलखा, कालिञ्चोक– ४ हिलेपानीमा जन्मिएका उनले हिलेपानी संस्कृत माविबाट संस्कृतको अध्ययन सुरु गरेका थिए। ‘ब्राह्मण समुदायमा हुर्किएको र गाउँमा संस्कृत विद्यालय भएकाले संस्कृत पढ्ने मौका पाएँ,’ उनी भन्छन्, ‘पहिला पूजापाठ अर्थात् कर्मकाण्ड गर्नेलाई भगवान्को दर्जा दिइन्थ्यो, त्यसैले पढ्न रुचि लाग्थ्यो।’
उनले कक्षा ६ देखि एसएलसीसम्मको शिक्षा संस्कृत मावि रानीपोखरी काठमाडौंबाट, उत्तरमध्यमा (११–१२) र शास्त्री (स्नातक)को शिक्षा वाल्मीकि विद्यापीठबाट लिएका हुन। अध्ययनसँगै उनले काठमाडौंमा कपडा पसल पनि खोलेका थिए। ०६१ सालमा नेपाली सेनाका लागि खुलेको पुजारीको समूहको विज्ञापनले उनको ध्यान तान्यो।
संस्कृत अध्ययन गरेका उनलाई साथीहरू र आफन्तले सेनामा पण्डित हुन सल्लाह दिएका थिए। ‘धर्म–कर्ममा रुचि थियो,’ उनी भन्छन्, ‘त्यसमाथि सरकारी जागिर भएकाले आवेदन दिएँ।’ सबै परीक्षामा उत्तीर्ण भएर उनी २०६१ जेठ २५ देखि नेपाली सेनामा कार्यरत छन्।
नौ महिनाको तालिमपछि उनको पहिलो ‘पोस्टिङ’ जाजरकोट नरसिंहदल गणमा नरसिंह भगवान्को पूजापाठका लागि भयो। ‘त्यहाँ बिहानको ३ बजेदेखि ६ः३० बजेसम्म नित्य आरती गरिन्छ,’ उनी भन्छन्, ‘चाडपर्वको समयमा सैनिकको अलि धेरै पूजापाठ हुन्छ।’
सैनिक सेवामा कार्यरतले विभिन्न कार्य सफल बनाउन नरसिंह भगवान्लाई धार्मिक आस्थाका साथ पूजा गर्ने गरेको उनको भनाइ छ।
उनका अनुसार, नेपाली सेनामा पुजारी समूह अन्तर्गत हुद्दामा भर्ना भएकालाई नित्यपूजा, आरती तथा विभिन्न मठ–मन्दिरमा पूजापाठ गर्न लगाइन्छ। ‘गण बाहिरका मठ–मन्दिरमा रहेका गुरु तथा अध्यक्षले खबर गरेको खण्डमा सार्वजनिक पाटीपौवा र मन्दिर सफा गर्न पुग्नुपर्छ,’ उनले भूकम्पको समय सम्झिँदै भने, ‘भूकम्पपछि नेपाली सेनाका पण्डितद्वारा भूकम्पमा देहावसान भएका व्यक्तिका लागि विशेषपूजा गरेका थियौँ।’
नेपाली सेनामा पुजारीको सेवा गर्नेहरूले विशेषतः चाडपर्वमा घर–परिवारसँग समय बिताउन नपाउने दुःख पोख्छन्। ‘दुई वर्षमा स्थान फेरिरहन्छ, दैनिक पूजापाठ हुने भएकाले बिदा कमै पाइन्छ,’ सहायक पण्डित घिमिरे भन्छन्, ‘चाडपर्वको समयमा थप पूजापाठ हुने भएकाले पर्वमा बिदा पाइँदैन।’
४१ वर्षीय पण्डित सह–सेनानी अर्जुन दाहाल ०५७ सालदेखि नेपाली सेनामा प्रवेश गरेका हुन्। अहिले उनी सैनिक हेड क्वार्टरमा पूजापाठ गर्छन्। रामेछापका दाहालले पनि सानैदेखि संस्कृत पढेका हुन्। उनले संस्कृत विद्यालय रानीपोखरीबाट ०५२ मा एसएलसी र वाल्मीकि विद्यापीठबाट उत्तरमध्यमादेखि आचार्य (स्नाकोत्तर) गरेका हुन्।
उनका अनुसार पुजारी समूहमा पनि सेनामा हुनुपर्ने आधारभूत मापन अनुसार नै छानिन्छ। तालिम तथा लिखित परीक्षामा पास गर्नुपर्छ। सैनिक आधारभूत तालिममा पास भएपछि फरक–फरक ठाउँमा पूजापाठ गर्न पठाइने सह–सेनानी दाहाल बताउँछन्। उनको विचारमा संस्कृत भाषा, नेपाली संस्कृतिलाई जोगाउनुपर्छ। ‘बाल्यकालदेखि संस्कृत पढ्ने माहोल भएकाले संस्कृत रोजेँ,’ उनी भन्छन्, ‘संस्कृत पढेर नेपालको पुरानो संस्कार बचाइराख्नु एक उद्देश्य हो।’
०६५ यता ४४५ पुजारी
नेपाली सेनाका सूचना अधिकारी सहायकरथी सन्तोष वल्लभ पौडेलका अनुसार, ०६५ यता देशभर नेपाली सेनाको पुजारी समूहमा चार सय ४५ जना कार्यरत छन्। देशभर कुल ९६ हजार नेपाली सेना छन् भने जसका गुल्म, गण, वाहिनी र पृतनामा पुजारी समूह राखिन्छ।
नेपाली सेनाको हरेक कार्यालयमा पुजारी राखिने नेपाली सेनाका सूचना अधिकारी सहायकरथी सन्तोष वल्लभ पौडेल बताउँछन्। ‘प्रत्येक स्थानमा दुई पण्डित राखिन्छ,’ उनले भने, ‘प्रमुख पण्डित र अर्काे सहायक पण्डित। पण्डित सेवामा प्रवेश गर्न संस्कृत पढेको हुनुपर्छ, तर भर्ना प्रक्रिया सबैलाई एउटै हो। लिखित र तालिम प्राप्त भई सिपाहीको दर्जा पाइसकेपछि मात्र विभिन्न आधारमा सेवा छुट्ट्याइन्छ।’
नेपाली सेनाको छुट्टै रीतिरिवाज र परम्परा छन्। विशेषतः नेपाली सेनामा हिन्दू धर्म अनुसार, मन्दिर तथा शक्तिपीठमा पूजाआराधना गरिन्छ। शिवरात्रिकै दिन सेना दिवस मनाइन्छ। नेपालमा कोट÷कोतहरू थुपै्र छन्, कति पहाडी स्थानको नाम ‘कोट’ प्रयत्य लागेर बनेका छन्।
नेपाली शब्दकोशमा कोट/कोतको अर्थ ‘सुरक्षाका लागि बनाइएको किल्ला, दुर्ग, गढी, मौलो पुज्ने ठाउँ। हातहतियार, खरखजाना आदि राख्ने ठाउँ वा घर’ उल्लेख छ। यसरी पहिलेदेखि नै सुरक्षाका लागि बनाइएको किल्ला वा दुर्गमा हात–हतियार, देवीदेवता रहने प्रचलन थियो। शासकले पहिलेदेखि नै शक्ति उपासना गरेर आफू बलियो बन्ने अभ्यास गर्न थालेको देखिन्छ। यही पृष्ठभूमिमा नेपाली सेनामा पनि पूजापाठको प्रचलन पाइन्छ।
पुजारीमा पुरुष मात्रै
पुजारी समूह अन्तर्गत हुद्दाका लागि मात्र दरखास्त आह्वान हुने गर्छ। हुद्दामा आवेदन दिनका लागि संस्कृत विषय लिई प्रवेशिका परीक्षा वा कक्षा–१० वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ।
पुरुषको हकमा हुद्दाका लागि उचाई (न्यूनतम ५ फिट ३ इन्च), छाती (नफुलाउँदा न्यूनतम ३२ इच्च र फुलाउँदा न्यूनतम ३४ इन्च), वजन (न्यूनतम ५० केजी) तोकिएको छ।
त्यस्तै, महिलाको हकमा भने (उचाइ ः न्यूनतम ५ फिट) र वजन (न्यूनतम ४० केजी) तोकिएको छ। ‘हुद्दा पदपूर्तिका लागि महिला, दलित, आदिवासी, पिछाडिएको क्षेत्र र खुलाका लागि विज्ञापन हुने गरेको छ,’ सहायकरथी पौडेल भन्छन्, ‘हालसम्म ब्राह्मण समुदायका पुरुषले मात्र आवेदन दिने गरेका छन्। अहिलेसम्म जनजाति, महिला तथा दलित पण्डित सेवामा आबद्ध भएका छैनन्।’
नेपाली सेनामा कहिलेदेखि पण्डित सेवामा आबद्ध गराउन थालिएको भन्ने तथ्यांक नभएको उनले बताए।












-(86)-1764936079.jpg)