Kathmandu Press

धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री पोखरेल

धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री पोखरेल

दमौली, असोज १४ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। तनहुँको भानु नगरपालिका–१३, चन्द्रावतीस्थित प्राचीन एवं ऐतिहासिक नैनेश्वर महादेव मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित आजदेखि शुरु महायज्ञको उद्घाटन कार्यक्रममा उनले धार्मिकस्थलको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताए। 

धार्मिक महत्व बोकेका ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने हिसाबले कार्ययोजना बनाउनुपर्ने चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘नैनेश्वर महादेव मन्दिरको धार्मिक आस्था त छँदैछ, पुरातात्विक महत्व पनि छ, तर यसलाई पर्यटनसँग गाँसेर अगाडि बढाउनुपर्छ।’ उनले यस ठाउँको विकासका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

Hardik ivf

पछिल्लो समय गण्डकी प्रदेश बाढीपहिराबाट प्रभावित भएको चर्चा गर्दै उनले बाढीपहिराले अवरुद्ध भएका सडक दसैँअगाडि नै खुलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए। सरकार गठन हुँदा कोभिडका साथै बाढीपहिराको पनि चुनौती आएको भन्दै उनले विपद्बाट क्षति भएका संरचना पुनःनिर्माणका लागि प्रदेश सरकार गम्भीर रहेको बताए। आगामी बजेटमा छुटेका बहुवर्षीय योजनालाई समावेश गरिने बताउँदै मुख्यमन्त्री पोखरेलले त्यस्ता केही योजना भए प्रक्रियागतरूपमा आउन आग्रह गरे। 

करिब २०० वर्ष पुुरानो उक्त मन्दिर भग्नावशेष बन्दै गएकाले महायज्ञबाट सङ्कलित रकमले मन्दिरको पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ। नैनेश्वर महादेव मन्दिरको आयोजनामा सुरु महायज्ञ असोज २६ गतेसम्म सञ्चालन हुने र महायज्ञबाट करिब एक करोड रुपैयाँ दान सङ्कलनको अपेक्षा गरिएको महायज्ञ मूल समारोहका समितिका सचिव कुवेर खनालले जानकारी दिए। 

प्राचीन एवं ऐतिहासिक महत्व बोकेको सो मन्दिरलाई पर्यटकीय गन्तव्यका रुरूपमा विकास गर्ने योजना लिइएको छ। धार्मिक अनुष्ठान, पितृ मोक्ष महोत्सव तथा ज्ञान महायज्ञमा पण्डित कपिलदेव भट्टले कथावाचन गर्नेछन। कार्यक्रम अवधिभर सामूहिक पितृ तर्पण, अन्नदान, भूमिदान, ब्राह्मण भोजन र पितृको फोटो राखी पूजा गर्न सकिने आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १९:४९ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्