फेरि उल्झियो चीन-अमेरिका विवाद, चिनियाँ सामानमा कर बढाउने अमेरिकी घोषणा
काठमाडौं, साउन १७ : अमेरिका र चीनबीच फेरि व्यापार विवदा उल्झिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप तीन सय अर्ब अमेरिकी डलर ब....

काठमाडौं, साउन १७ : अमेरिका र चीनबीच फेरि व्यापार विवदा उल्झिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप तीन सय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेपछि विवाद बढेको हो।
चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले चीनले तत्काल कुनै कदम नचाले १० प्रतिशत करवृद्धिलाई अझ बढाउने चेतावनी पनि दिएका छन्।
अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच भइरहेको करिब ६ सय ६० अर्ब अमेरिकी डलर बराबरका आयात-निर्यातमा करवृद्धि भएको छ। यो निर्णयबाट दुवै देशबीचको सम्पूर्ण कारोबारमा अब करवृद्धि हुनेछ।
यसअघि नै अमेरिकाले करिब दुई सय ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरिसकेको छ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग भने, ‘अहिलेको १० प्रतिशत पनि छोटो अवधिका लागि हो, र यो बढ्ने वा घट्ने कुरा चीनमा निर्भर छ। विश्वसनीय सम्झौता नभए यसलाई २५ प्रतिशतसम्म बढाइने छ।’
चीन र अमेरिकाबीच यसै साता शाङ्घाईमा प्रत्यक्ष व्यापार वार्ता पुनः शुरु भएको छ। अर्को चरणको वार्ता वासिङ्टनमा सेप्टेम्बरको पहिलो साता हुनेछ।
आसियान बैठकमा भाग लिन हाल बैंककमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले भने, ‘आर्थिक तथा व्यापारिक समस्या सुल्झाउन करवृद्धिको अस्त्र रचनात्मक समाधान होइन।’
चीनले अमेरिकी निर्णयको प्रतिवाद के कसरी गर्नेछ भन्ने स्पष्ट भएको छैन। तर, चीनले हालै अमेरिकी प्रविधि उद्योगका लागि अति आवश्यक सामानको निर्यातमा कडाई गर्ने वा रोक्ने तथा अमेरिकी कम्पनीलाई कालोसूचीमा राख्ने सङ्केत दिएको थियो।
ट्वीटर मार्फत आफ्नो निर्णय सार्वजनिक गरेका राष्ट्रपति ट्रम्पले अमेरिकाबाट ठूलो परिमाणमा चीनले अमेरिकी कृषिजन्य सामान खरिद गर्ने प्रतिबद्धता व्यक्त गरे पनि त्यसो नगरेको भन्दै आक्रोश पोखे।
राष्ट्रपति ट्रम्पले भने, ‘त्यसबाहेक, मेरा मित्र राष्ट्रपति सीले संयुक्तराज्य अमेरिकामा फेन्टानाइल (लागूपदार्थ) बिक्री रोक्ने बताउनुभएको थियो। तर, त्यो कार्यान्वयनमा कहिल्यै आएन। त्यही फेन्टेनाइलका कारण धेरै अमेरिकीहरुको ज्यान जाँदैछ।’
पछिल्लो अमेरिकी निर्णयसँगै विश्व बजार तरङ्गित भएको छ। वाल स्ट्रिट, डाउ जोन्स, सिंगापुर, हङकङ र टोकियो समेतका प्रमुख शेयर बजारहरुमा कारोबार घटेको छ। (एएफपी)

-1784896419.png)









