मान्छेहरूबाट सुन्नुपर्छ– ‘बेलुका बेलुका हिँड्छे’
न्यायिक समितिको संयोजक, अनुगमन समितिको संयोजक लगायतका जिम्मेवारी हुँदाहुँदै कुनै न कुनै तवरले जनप्रतिनिधि महिलालाई पछाडि पारिएको अनुभव हुन्छ। कुनै पनि निर्णय हामीले भनेको भरमा हुँदैन। त्यसको नेतृत्व अध्यक्षले नै लिनुपर्छ।काठमाडाैं, असाेज १४ : सधैँ देशको झन्डा फहराउने प्रशासनिक केन्द्र रहेको सिंहदरबारको गेटमाथि उमादेवी वादीको पेटिकोट फहराउन पुग्यो। ०६५ भदौ ५ को घटना थियो, यो अनौठो दृश्यको तस्बिरले देशको मात्रै होइन, संसारकै ध्यान खिच्यो। त्यतिबेला वादी महिलाले आफ्नो हक–अधिकारका लागि अर्धनग्न प्रदर्शन गर्न बाध्य भएका थिए। २३ जिल्लाका करिब पाँच सय वादी समुदायका अगुवाले २६ बुँदे माग लिएर सिंहदरबारसम्म आएका थिए। तर, गेटमै सत्ताले उनीहरुलाई रोक्यो र वादी महिलाले अर्धनग्न प्रदर्शन गरे। उनीहरुको माग थियो– आमाको नाममा नागरिकता, स्थायी बसोबासको व्यवस्था, छुवाछूतको अन्त्य, निःशुल्क शिक्षा आदि। वादी समुदाय आर्थिक, राजनीतिक र सामाजिक रुपमा सदियौँदेखि राज्यले पछाडि पारेको समुदाय हो। त्यतिबेलाको आन्दोलन ४८ दिनसम्म चलेको थियो।
त्यस आन्दोलनमा कलावती भाण पनि सहभागी थिइन्, उनी वादी समुदायकी हुन्, यतिखेर भने उनी सुदूरपश्चिम प्रदेश, डडेल्धुराको अजयमेरु गाउँपालिकाकी उपाध्यक्ष छन्।
कलादेवीको बुझाइ छ, सबै विभेदको जड राज्य व्यवस्था र राजनीति हो, न्याय पनि राजनीतिक नेतृत्व र परिवर्तनबाटै सम्भव छ।
कलादेवी अहिले ३७औँ वसन्तमा हिँड्दै छन्। उनको राजनीतिक यात्रा ०५७÷५८ सालदेखि सुरु भएको थियो, तत्कालीन माओवादी पार्टी अन्तर्गत विद्यार्थी संगठनमा आबद्ध भएर। ‘घरको कामकाजका कारण माओवादीमा सक्रिय रूपमा लाग्न सकिनँ,’ उनी भन्छिन्, ‘पछि २०७० सालमा आएर एकीकृत माओवादीको क्रियाशील सदस्य भएँ। ‘समुदायका लागि केही गर्नुपर्छ भनेरै सामाजिक अभियन्ताका रूपमा पनि धेरै समय काम गरेँ।’
२०७४ को स्थानीय तह निर्वाचनमा काम र सक्रियताको मूल्यांकन गरेर उनलाई पार्टीले उपाध्यक्षको टिकट दियो, उनले उपाध्यक्ष भएर स्थानीय तहको विकास र सेवा गर्ने अवसर पाइन्।
यतिखेर अजयमेरु गाउँपालिकामा भौतिक पूर्वाधारदेखि आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा लगायत काम तीव्र रूपमा अघि बढिरहेको उनी बताउँछिन्।
समुदायको माझमा
कलावतीको जन्म २०४० सालमा डडेल्धुरा, अजयमेरु गाउँपालिका– २ मा भएको हो, साधारण कृषक परिवारमा। उनी चार दिदीबहिनी र तीन भाइमध्ये साइँली हुन्।
उनी ६–७ वर्षकी हुँदा गाउँमा एउटा छात्रवृत्तिको अवसर आयो। पढ्नका लागि गाउँबाट छानिएर काठमाडौं आउनुपथ्र्यो। उनले यो अवसर पाइन्। ‘म सानै थिएँ। त्यो अवसर कसले, कसरी दियो भन्ने थाहा छैन,’ कलावती भन्छिन्, ‘जेहोस्, मैले काठमाडौं आएर ज्ञानेश्वरमा रहेको महेन्द्र भवन विद्यालयमा पढ्ने अवसर पाएँ।’
काठमाडौंमा होस्टेलमा बसेर अध्ययन गरी उनले २०५६ मा एसएलसी पास गरिन्। काठमाडौंमा रहँदा नै उनको कसैसँग विवाह भएको थियो। तर, कारणवश त्यो सफल भएन, छिटै टुट्यो। त्यसपछि कक्षा १२ उनले डडेल्धुराको महेन्द्र उच्च माविबाट गरिन्। त्यतिबेला देशमा जनयुद्ध चलेको थियो। उनको गाउँठाउँमा पनि राजनीतिक माहोल थियो। त्यतिबेलै उनी माओवादीको विद्यार्थी संगठनमा आबद्ध भएकी थिइन्। कक्षा १२ पास गरेपछि उनी कानुन विषय पढ्न स्नातक तहमा भर्ना भइन्, तर राजनीतिमा अगाडि बढिसकेको र घरको अवस्थाले गर्दा पढाइलाई अगाडि बढाउन सकिनन्।
यही बीचमा उनले सामाजिक विकाससम्बन्धी तालिमहरू लिइन्। पढाइ छाडेर २०६१ सालतिर ‘कम्युनिटी सपोर्ट ग्रुप’ नामक गैरसरकारी संस्थामा सोसियल मोबिलाइजर (सामाजिक परिचालक) भएर काम गर्न थालिन्। त्यतिबेला उनको तलब मासिक पाँच हजार रुपैयाँ मात्रै थियो।
तलब कम भए पनि आफ्नो समुदाय र उत्पीडनमा परेको वर्गको उत्थानमा केही गर्नुपर्छ भनेरै उनी कैलाली, कञ्चनपुर, बर्दिया, बाँके लगायतका जिल्लामा झन्डै सात वर्षसम्म खटिन्। यो उनका लागि एउटा विश्वविद्यालय नै थियो। यस कामबाट उनले समाजलाई नजिकबाट नियाल्ने मौका पाइन्। ‘वादी समुदायका महिलाका बारेमा धेरै सुनिन्थ्यो। आफू पनि त्यही समुदायमा पर्ने भएकाले के रहेछ भन्ने कुरामा निकै चासो लाग्थ्यो,’ उनी भन्छिन्, ‘त्यसैले आफ्नै समुदाय र उत्पीडनमा परेका महिलाको जीवनमा केही न केही परिवर्तन ल्याउनुपर्छ। जुन किसिमको बाध्यता सहनुपरेको छ, त्यसको समाधान र उत्थानका लागि काम गर्नुपर्छ भन्ने सोचले पनि एनजिओमा जागिर गरेकी थिएँ।’
अध्ययन, विद्यार्थी राजनीति, जागिर र फेरि स्थानीय राजनीतिमै सक्रिय हुँदा उनले समाजलाई राम्रोसँग बुझेकी छन्। महिला, त्यसमाथि दलित हुनुको पीडा उनका लागि नौलो होइन। उनी भन्छिन्, ‘सानोमा पसलमा चिया पिउन जाँदा ठूलो जातको मान्छेको चिया छोई भनेरै जिउमै तातो चिया खन्याइदिएको घटना पनि छन्। संघर्ष गर्दै यहाँसम्म आइएको छ। अझै पनि कुनै कुनै कुरामा निर्णय लिन नपाउँदा दुःख लाग्छ।’
‘समाजले महिला भनेर पत्याउँदैन’
जागिरपछि कलावती तत्कालीन माओवादी पार्टीको क्रियाशील सदस्य भएर राजनीतिमा लागिन्। यहाँसम्म आइपुग्दा उनले देशको राजनीति र समाजलाई नजिकबाट नियाल्ने मौका पाइन्। राजनीतिक सभा–गोष्ठीले उनी अझ खारिँदै गइन्। र, ०७४ को निर्वाचनपछि उनी गाउँपालिकाको उपाध्यक्ष भइन्।
योबीचमा थुप्रै वर्ष स्थानीय तहलाई कर्मचारीतन्त्रले चलाएको थियो। निर्वाचन भई जनप्रतिनिधि आउँदा कतिपय कर्मचारीले नसघाएको कलावतीको अनुभव छ। ‘समाजका मानिसमा महिलालाई हेर्ने दृष्टिको बदलिएको थिएन, अझै छैन,’ कलावती भन्छिन्, ‘अध्यक्ष (पुरुष) बाहेक महिला जनप्रतिनिधिले सोही काम गर्न सक्दैन भन्ने बुझाइ छ। त्यसले गर्दा पनि काम गर्न केही असहजता भएको छ। पुरुषको तुलनामा महिला जनप्रतिनिधिलाई काम, जिम्मेवारी बढी छ। न्यायिक समितिको संयोजक, अनुगमन समितिको संयोजक लगायतका जिम्मेवारी हुँदाहुँदै कुनै न कुनै तवरले जनप्रतिनिधि महिलालाई पछाडि पारिएको अनुभव हुन्छ। कुनै पनि निर्णय हामीले भनेको भरमा हुँदैन। त्यसको नेतृत्व अध्यक्षले नै लिनुपर्छ।’
उनको बुझाइमा राजनीतिमा आउने महिलालाई दोहोरो जिम्मेवारी हुन्छ, घरको र कार्यालयको। ‘कतिपय जनप्रतिनिधि महिलाले घर–व्यवहारकै कारण राजनीतिमा समय दिन सक्दैनन्। त्यसमाथि समाजले पत्याउँदैन,’ उनी भन्छिन्, ‘म पनि काम गर्ने दौरानमा साँझ–बिहान हिँड्नुपर्छ र मान्छेहरूबाट सुन्नुपर्छ– बेलुका बेलुका हिँड्छे, के गर्छे, श्रीमान् छैन, आदि।’
यस्ता लाञ्छनाबाट आफूलाई काम गर्ने ऊर्जा मिलेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘कामले जवाफ दिने हो।’
विकासमा महिला
समग्रमा देशमै महिलाहरु पछाडि पारिएका छन्। त्यसमाथि सुदूरपश्चिमा छाउपडी लगायत प्रथाका कारण पनि महिलाहरु उत्पीडनमा परेको कलावतीको बुझाइ छ। ‘यहाँका समस्त महिलाकै अवस्था सुधार्नकै लागि स्वास्थ्य, शिक्षा, आर्थिक लगायत हरेक क्षेत्रमा धेरै काम गर्नुपर्ने छ। विभिन्न कार्यहरू भइरहेका पनि छन्,’ उनी भन्छिन्, ‘महिलाहरूको सशक्तीकरणका लागि विशेष ध्यान दिएर काम गरिरहेका छौँ।’
महिलालाई कृषि, भेटेरिनरी, शिक्षा सिलाइकटाइ लगायत तालिममा जोड दिइएको उनी बताउँछिन्। ‘तरकारीखेती, दूधका लागि भैँसीपालनमा जोड दिएका छौँ,’ उनले भनिन्, ‘तरकारीका लागि पोलिहाउस वितरण गरेका छौँ।’
अहिले अजयमेरु गाउँपालिकाको न्यायिक समितिमा वार्षिक करिब सातवटा मुद्दा दर्ता हुन्छ। जसमध्ये केही जग्गाको र केही घरेलु हिंसाका हुन्छन्। यस्ता मुद्दा कम गर्नेतर्फ पनि आफूहरू लागिरहेको कलावती बताउँछिन्।
उपाध्यक्षको हैसियतमा काम गर्दा उनलाई महिलाहरु राजनीतिमा सक्रिय हुनुपर्ने बोध भएको छ। ‘कुनै पनि वर्गका मानिस राजनीतिमा लागेपछि राज्यमा भइरहेका नीतिनियमदेखि कानुन लगायतका सबै कुराको जानकारी हुन्छ,’ उनले भनिन्, ‘हाम्रो जुजुबाजेदेखि कसैले पनि राजनीति गर्नुभएको थिएन। अहिले राज्यमा भइरहेका गतिविधिका केही जानकारी मलाई हुन्छ। त्यही जानकारीकै आधारमा काम गर्ने हो।’