Kathmandu Press

महिनावारी रोकिएपछि महिलाको यौन जीवन किन ओरालो लाग्छ?

महिनावारी रोकिएपछि धेरै महिलाको यौनजीवन पहिलेजस्तो सन्तोषजनक हुँदैन। तर किन?

उमेरसँगै महिलाको यौन जीवन पनि ढल्किनुमा हर्मोन परिवर्तनको आंशिक भूमिका मात्रै रह....

महिनावारी रोकिएपछि महिलाको यौन जीवन किन ओरालो लाग्छ?

महिनावारी रोकिएपछि धेरै महिलाको यौनजीवन पहिलेजस्तो सन्तोषजनक हुँदैन। तर किन?

उमेरसँगै महिलाको यौन जीवन पनि ढल्किनुमा हर्मोन परिवर्तनको आंशिक भूमिका मात्रै रहेको नयाँ अनुसन्धानले देखाउँछ। महिनावारी बन्द भएपछि धेरै महिलाको योनी सुक्खा हुने, यौन सम्पर्क राख्दा दुख्ने र यौन चाहना घट्नेजस्ता लक्षण देखापर्छ। यी सबै कारणले यौन सम्पर्कको दर र आनन्दमा प्रभाव पार्दछ।

तर धेरै महिलालाई यौन चाहना नहुनु, यौनले आनन्द नदिनु र यौन सम्पर्क राख्न मन नहुनुको पछि जटिल कारण भएको नयाँ अध्ययनले देखाएको छ। कुनै सम्बन्धमा यौन जीवन खस्किँदै जानुमा महिलालाई दोष दिने चलन भए पनि ती महिलाको यौनसाथीको स्वास्थ्यले उनको यौन जीवन कति सक्रिय छ र सन्तुष्ट छिन् भन्ने निर्धारण हुने अनुसन्धानले देखाएको छ। अधिकांश अध्ययन विपरीत लिङ्गीप्रति आकर्षित हुने महिलामा केन्द्रित छन्। त्यसैले महिनवारीपछि समलिङ्गी जोडी पर्ने प्रभावबारे कमै मात्र जानकारी छ।

“महिनावारी बन्द भएपछि यौन चाहनामा नकारात्मक प्रभाव पर्छ, योनी सुक्खा हुन्छ र यौन सम्पर्क पीडादायी हुन्छ भन्ने हामीलाई थाहा छ,” रोचेस्टर, अमेरिकास्थित मायो क्लिनिक सेन्टर फर वुमेन्स हेल्थकी निर्देशक डा. स्टेफनी फबियोले बताइन्। “यौनसाथीको पनि महत्वपूर्ण भूमिका हुने निष्कर्ष निरन्तर आइरहेको छ। यौनसाथीको उपलब्धता मात्रै नभएर उनको शारीरिक स्वास्थ्य पनि महत्वपूर्ण छ।”

बेलायतमा गरिएको डिम्बाशयको क्यान्सर परीक्षणमा २४ हजारभन्दा धेरै महिला सहभागी भएका थिए। मिनोपज नामक मेडिकल जर्नलमा प्रकाशित पछिल्लो अध्ययन त्यही सर्वेक्षणमा आधारित छ।

सहभागीको उमेर ५० देखि ७४ वर्ष थियो। उनीहरूले यौन जीवन सम्बन्धी बहुवैकल्पिक प्रश्नावलीको उत्तर दिएका थिए। तर सर्वेक्षणको डाटा विशिष्ट छ। सहभागीमध्ये चार हजार पाँच सय महिलाले लिखित प्रतिक्रिया पनि दिएका थिए। यसबाट अनुसन्धाताले महिलाको यौन जीवनबारे नयाँ जानकारी पाएका छन्।

समग्रमा, सर्वेक्षणमा सहभागी ७८ प्रतिशत महिलाले अन्तरङ्ग साथी भएको बताए पनि आधाभन्दा कमले (४९.२ प्रतिशत)यौन जीवन सक्रिय भएको बताए। लिखित प्रतिक्रियामा पीडा र उदासीका कारण यौन सम्पर्क राख्न छाडेको उल्लेख थियो।

मृत्यु वा सम्बन्ध विच्छेद यौन सम्पर्क नराख्नुको मुख्य कारण थियो। ३७ प्रतिशत महिलाले यही कारण खुलाएका थिए।

“म १७ वर्षदेखि विधवा छ। हामी बाल्यकालदेखि नै एकअर्कालाई प्रेम गर्थ्यौं। अर्को व्यक्तिका लागि कुनै स्थान नै छैन।”(उमेर ७२ वर्ष)

केहीले यौनका लागि जीवन एकदमै जटिल भएको बताए। सहभागीमध्ये आठ प्रतिशतले यौन सम्पर्क राख्नलाई यौनसाथी असाध्यै थकित भएको र नौ प्रतिशतले आफू पनि एकदमै गलेको बताए।

“मेरो १२ वर्षे छोरा हुर्काउनु नै जीवन हो जस्तो लाग्छ। सम्बन्ध दोश्रो प्राथमिकता हो।” (उमेर ५० वर्ष)

“अहिले बुढा आमाबाबुको स्याहार गर्दैछु। उर्जाको अभाव र उनीहरूको चिन्ताले यौन गतिविधिमा कमी ल्याइरहेको छ।” (उमेर ५३ वर्ष)

“पति काममा व्यस्त हुन्छन्। म दुई सन्तानसँग व्यस्त हुन्छु। दिन ढलेपछि दुवै जना ओछ्यानमा ढल्छौं।” (उमेर ५० वर्ष)

स्वास्थ्यमा गम्भीर समस्या भएको पति अर्को साझा समस्या थियो। चारमध्ये एक महिला यौनसाथीको शारीरिक समस्याले यौनको अभाव भएको बताउँछन्। करिब ११ प्रतिशतले आफ्नै शारीरिक समस्यालाई दोष दिए।

“प्रोस्टेटको शल्यक्रिया र मधुमेह भएपछि उनको लिङ्ग धेरैबेर उत्तेजित हुँदैन। पतिको स्वास्थ्यका कारण मेरो यौन जीवन सीमित भएको छ।“ (उमेर ५९ वर्ष)

“आघातका कारण पतिलाई पक्षघात भयो। यौन सम्बन्ध एकदमै कठिन छ। म उनको स्याहार गर्छु र साथी बनेको छु।” (उमेर ५२ वर्ष)

“मेरो पतिलाई हृदयाघात भयो। औषधिको दुष्प्रभावले यौन एकदमै कठिन भएको छ। यसले हामी दुवै जनालाई दुखी बनाएको छ।” (उमेर ६२ वर्ष)

अन्यले मानसिक स्वास्थ्य र दुर्व्यसनका कारण यौन जीवन निष्क्रिय भएको बताए।

“उनी दैनिक एकदेखि डेढ बोतल ह्वीस्की पिउँछन्। वर्षमा एक वा दुई पटक मात्रै यौन सम्पर्क हुन्छ।” (उमेर ५६ वर्ष)

“पति चिन्ता र उदासिनताबाट पीडित छन्। यसले हाम्रो सम्बन्ध र मेरो निद्रामा प्रभाव पारेको छ।” (उमेर ५३)

“म एन्टिडिप्रेसेन्ट औषधि खाइरहेकी छु। यसले यौन चाहना मार्छ।” (उमेर ५९ वर्ष)

करिब ३० प्रतिशत महिलाले “कुनै रूची नै नभएकाले” यौन जीवन रोकिएको बताए।

“सबै इच्छा हराएको छ। ग्लानी हुन्छ। त्यही कारणले म यौनबारे कुरै गर्दिनँ।“ (उमेर ५३ वर्ष)

“महिनावारी बन्द हुनुको धेरै लक्षणहरूले मेरो यौन चाहना प्रभावित भएको छ। यसबाट म दु:खी छु किनभने यौन चाहना पहिले झैं होस् भन्ने म चाहन्छु।” (उमेर ५८ वर्ष)

“असहज हुन्छ र कहिलेकाहीँ पीडादायी हुन्छ। योनीको सुक्खापन हटाउने जेल पनि प्रयोग गर्छु तर खासै सहयोग पुग्दैन। त्यसैंले बितेका महिनाहरू यौन सम्पर्क राखिएन।“ (उमेर ५४ वर्ष)

“म मेरो यौनसाथीलाई असाध्यै माया गर्छु। यो समस्याले मलाई दु:खी बनाउँछ। तर यौनसाथी नभए, वास्ता पनि हुँदैन। आफूलाई मन नपर्ने कुराको चाहना गर्नु एकदमै कठिन छ। हामी कस्तो थियौं भन्ने सोंच्दा दुख लाग्छ। ऊ एकदमै समझदार छ।” (उमेर ५४ वर्ष)

र २१ प्रतिशत महिला यौनसाथीको यौन चाहना हराएको बताउँछन्।

“सायद वर्षमा दुई पटक यौन सम्पर्क राख्छौं होला। यौनसाथीको यौन चाहना नै छैन। यसबारे कहिले सोच्दैन पनि। तर ऊ मलाई माया गर्छ र चिन्तित पनि छ। (उमेर ६० वर्ष)

अधिकांश लिखित प्रतिक्रिया यौन समस्याबारे भए पनि केही महिलाले सहयोगी सन्देश पनि दिए।

“एक वर्षदेखि मेरो नयाँ यौनसाथी छ। मेरो यौन जीवन एकदमै रमाइलो छ। यौन सम्पर्क पनि धेरै पटक हुन्छ। मेरो खुशी, सन्तुष्टि र समृद्धिको कारण यही नै हो।” (उमेर ५९ वर्ष)

“युवा उमेरभन्दा थोरै यौन सम्पर्क हुन्छ। हामी दुवै थाक्छौं तर जब सम्पर्क हुन्छ साँच्चिकै रमाइलो हुन्छ।“ (उमेर ६४ वर्ष)

ब्राइटन एन्ड ससेक्स मेडिकल स्कूलकी रिसर्च फेलो डा. हेलेना हार्डर र सहकर्मीले संकलित डाटा र तथ्याङ्क विश्लेषण गरेका हुन्। डाक्टरहरूले महिलासँग यौनबारे अझ धेरै कुरा गर्नुपर्ने प्रतिक्रियाहरूले देखाएको डा. हार्डरले बताइन्।

“परिस्थिति परिवर्तन भएको दु:खी भएको महिला बताउँछन्। उनीहरू परिस्थिति बदलियोस् भन्ने चाहन्छन्,” डा. हार्डरले बताइन्। तर साधारणतया, यसबारे छलफल हुँदैन। यौनबारे छलफल र प्रश्न गर्नु हुन्छ भनेर बिरामीलाई आश्वासनको खाँचो छ। यसो गरे, परिवर्तनको बाटोमा पाइला अघि बढ्छ।

नर्थ अमेरिकन मिनोपज सोसाइटीको मेडिकल निर्देशकसमेत रहेकी डा. फबियोले योनी सुक्खा हुने र यौन सम्पर्क राख्दा पीडा हुने महिलालाई सहयोग गर्न उपचार उपलब्ध भएको बताइन्। यसबाहेक, महिलाको यौन चाहना बढाउन दुई वटा औषधि पनि स्वीकृत भएको छ। एउटा खाने चक्की हो र अर्को सुईं हो। दुवै औषधि यो वर्षदेखि उपलब्ध हुनेछ। दुवै महँगा छन् र दुष्प्रभाव पनि छ। त्यसैले ती औषधि सबै महिलाका लागि उपयुक्त नहुने उनले बताइन्।

महिला र यौनजोडीलाई शिक्षा दिनु नै उपयुक्त विकल्प हुनसक्छ। सेक्स थेरापिस्टले महिलालाई चिन्ता र यौन चाहना बढाउन सहयोग गर्न सक्छन्। स्वाभाविक र स्वत:स्फूर्त यौन चाहना मर्दै गए पनि यौन सम्पर्कका लागि योजना बनाउन सिकाउन सक्छन्। अन्तरङ्ग व्यवहारमा संलग्न भएपछि महिलाको यौन चाहना प्राय: फर्किनसक्छ।

महिनावारी बन्द हुँदा शरीर अकस्मात तातो हुने र यौन चाहनाको कमीले यौन जीवनमा पारेको प्रभावबारे चिकित्सकले प्रश्न गरेपछि मात्रै बुझेको ५३ वर्षीया नान डिलले बताइन्। सिन्सिनाटी निवासी डिलका १५, १८ र २१ वर्षका तीन सन्तान छन्। “म सोंच्थे - जीवन व्यस्त छ। यस्तै हुन्छ,“ उनले भनिन्।

शरिर तात्ने लक्षणका लागि डिलले “एस्ट्रोजन प्याच” प्रयोग गरिन् र योनीको सुक्खापन हटाउन उपचार पनि गराइन्। यौन चाहनामा परिवर्तन हुनु सामान्य भएको थाहा पाएर उनी र उनको पति दुवैलाई सम्बन्धको नयाँ अध्यायमा प्रवेश गरेको बुझ्न सहयोग पुग्यो।

“सही जानकारीले शारीरिक मात्रै नभएर बेडरूपमा हुने परिवर्तन पनि बुझ्न सहयोग गर्छ,” उनले भनिन्,“यौन भिन्न हुनसक्छ भनेर बुझ्नुहुनेछ तर अझै पनि रमाइलो हुनेछ र दुवैका लागि फाइदाजनक हुनेछ।”
 

प्रकाशित मिति: ०७:०३ बजे, शुक्रबार, साउन १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्