इपिएल ललितपुरमाथि पोखराको सानदार जित
काठमाडौं, असोज १३ : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा डिफेन्डिङ च्याम्पियन ललिपुर प्याट्रिओट्समाथि पोखरा राइनोजले सानदार जित निकालेको छ। कीर्तिपुरस्थित टियु मैदानमा...
काठमाडौं, असोज १३ : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा डिफेन्डिङ च्याम्पियन ललिपुर प्याट्रिओट्समाथि पोखरा राइनोजले सानदार जित निकालेको छ। कीर्तिपुरस्थित टियु मैदानमा मंगलबार बिहान भएको खेलमा पोखराले ललितपुरलाई ९ विकेटले पारजित गरेको हो।
लगातार तीन दिन परेको वर्षका कारण मैदान ओसिलो भएपछि ढिला सुरु भएको खेल ७ ओभरमा झारिएको थियो। पहिला ब्याटिङ गर्दै ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले तीन बल बाँकी छँदै १ विकेट मात्र गुमाएर भेट्टायो।
पोखराका लागि दक्षिण अफ्रिकाका रिचर्ड लेभीले २२ बलमा ५ चौका १ छक्का प्रहार गर्दै नटआउट ३८ रन बनाए भने रित गौतमले १२ रन बनाए । ललितपुरका अज्मतुल्लाह ओमर्जाइले १ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन मात्र बनाउन सक्यो। उसका लागि श्रीलंकन खेलाडी सन्दुन विराकोडीले सर्वाधिक १९ रन बनाउँदा नारायण जोशीले ११ र ओसादा फर्नान्डोले १० रनको योगदान दिए।
ललितपुरलाई सस्तैमा रोक्ने क्रममा नन्दन यादवले २ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए भने विक्रम सोबले २ र केस्रिक विलियम्सले १ विकेट लिए।
यो जितसँगै २ खेलमा ३ अंक जोडेको पोखरा शीर्ष स्थानमा उक्लिएको छ। दुवै खेलमा पराजित ललितपुर अंकविहीन हुँदै पुछारमा छ।











