Kathmandu Press

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अन्योलमा

ललितपुर, साउन १६ : भूकम्प गएको चार वर्ष वितिसक्दा पनि ललितपुरको प्रसिद्ध मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण हुन सकेको छैन । 

श्रीलङ्का....

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अन्योलमा
फाइल

ललितपुर, साउन १६ : भूकम्प गएको चार वर्ष वितिसक्दा पनि ललितपुरको प्रसिद्ध मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण हुन सकेको छैन । 

श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माणाधीन यो मन्दिरको पुनर्निर्माणका लागि तोकिएको समयसीमा सकिएर थप भएको अवधिमा समेत ३५ प्रतिशतको हाराहारीमा मात्रै काम भएको छ। 
    
ठेकेदार कम्पनीबीचको आपसी विवादका कारण अहिले निर्माणको काम ठप्प भएको पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयले जनाएको छ। 

बुङ्मतीमा रहेको सो मन्दिर विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेपछि यसको निर्माणको जिम्मेवारी तीन ठेकेदार कम्पनीले पाएका थिए । तर शुरुदेखि नै निर्माणको कामले गति लिन सकेको थिएन। सो मन्दिर पुनर्निर्माणको जिम्मेवारी प्रेरा भेगिम, थेगिस र तुलसी कन्सट्रक्शन जेभीले लिएको कार्यालयका प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए। ठेकेदार कम्पनीले २ वर्षमा पूरा गर्ने गरी असारमा भ्याटसहित ४ करोड ७४ लाख ४५ हजार १६ रुपैयाँमा ठेक्का पाएको हो।


ठेक्का अवधिभित्र निर्माणको काम अघि बढाउन नसकेपछि सरकारले ती कम्पनीलाई नै नौ महिनाको समयावधि थपिएको थियो। ठेकेदार कम्पनीसँग छ महिना समयावधि रहे पनि काम सञ्तोषजनक नरहेको उनको भनाइ छ। २०७५ साल फागुनको पहिलो सातासम्म यी तीन कम्पनीले काम गर्न नसकेपछि फागुन १३ को निर्णयले थेगिसलाई हटाएर प्रेरा र तुलसी कन्सट्रक्शनलाई मन्दिर निर्माणको जिम्मेवारी दिइएको थियो। 

सो मन्दिर निर्माणका लागि उठेको कूल रु पाँच करोड रकममा थेगिसले दुई करोड ८१ लाख लिएर दुई करोड ७२ लाख बराबरको काम गरेको प्याकुरेलले बताए। थेगिस कन्सट्रक्शनसँग रातो मच्छिन्द्रनाथको पुरातात्विक महत्वका वस्तु मेथ, कार्नेश लगायतका सामग्री छन्। प्याकुरेलले भने, “मन्दिरको तेह्रदेखि चौध सय वर्ष पुराना यी वस्तुहरु पुनः प्रयोग गर्न मिल्ने हुँदा उपलब्ध गराइदिन हामीले माग गरेका हौँ।” 

विसं २०७२ माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुङ्मतीबाट मन्दिर पुनर्निर्माणको शुरुआत गरे तापनि हालसम्म यहाँको मन्दिर निर्माणको अवस्था भने अझै अन्योलमा नै रहेको छ। पहिले ठेकेदार कम्पनीले सो मन्दिर निर्माणका काममा सामग्रीको अभावलगायतका कारण देखाउँदै आए तापनि सामग्रीको सम्पूर्ण व्यवस्था भएपछि काममा सुस्तता नै देखाएको देखिन्छ। मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको जिम्मेवारी जुनसूकै कम्पनीले लिए पनि त्यसमा पुरानै मौलिकता झल्किनुपर्ने स्थानीयवासीको माग छ। 

शिखरशैलीको यो मन्दिर निर्माणमा ३६ फिट लामो काठको खाँचो पर्छ। उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मच्छिन्द्रनाथको जात्रालाई मानिन्छ। जावलाखेलमा भोटो जात्रा सकिएपछि मच्छिन्द्रनाथलाई बुङ्मतीको यही मन्दिरमा लगेर राखिने गरिन्थ्यो। तर भूकम्पपछिको क्षतिका कारण हाल मन्दिर अभावका कारण मच्छिन्द्रनाथलाई अर्काे स्थानमा सारिएको छ। 

सो मन्दिरको पुनर्निर्माणमा ढिलाइ हुँदा बुङ्मतीका जनतालाई विभिन्न चाडपर्वमा असर परेको स्थानीयवासी रामचन्द्र शाक्यले जानकारी दिए। उनले भने,“हामीले वर्षभर गर्ने चाडपर्व रातो मछिन्द्रनाथ कतै न कतै जोडिनुहुन्छ, तर मन्दिरको निर्माण नसकिँदा ती चाडपर्व खल्लो भएको छ।”

मन्दिरको पुनर्निर्माण शुरु हुनासाथ ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभावलगायतका कारण देखाएर ढिलाइ गरेको हो। निर्माणमा प्रयोग भएको इँट्टामा अङ्ग्रेजी लेखिएको भन्दै स्थानीयवासीसमेत असन्तुष्ट बनेका थिए। त्यसपछि पनि पुरातत्व विभाग वा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि जाँदा काम गर्ने गरे पनि अरू समयमा त्यति काम हुन नसकेको कार्यालयले जनाएको छ। 

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मच्छिन्द्रनाथको जात्रा मानिन्छ। जावलाखेलमा भोटो जात्रा सकिएपछि देवतालाई यही मन्दिरमा राख्ने गरिन्छ। देवता बुङमतीमा रहँदा विभिन्न पर्व पर्छन्। वर्षभर हुने जात्रा पर्वमा मच्छिन्द्रनाथका पानेजुहरु पालैपालो मन्दिरमा बस्ने गरेका छन्। मन्दिरको पुनर्निर्माण नसकिँदा यहाँ भएका विभिन्न सामग्रीहरुसमेत सुरक्षा गर्न गाह्रो भएको स्थानीयवासीले बताउँदै आएका छन्।

अहिले मच्छिन्द्रबहाल लथालिंग अवस्थामा छन्। मन्दिर पछाडिको डबलीमा मच्छिन्द्रनाथ राख्न टहरा बनाइएको छ। मच्छिन्द्रनाथका बहुमूल्य गरगहना टहरामै राखिएका छन्। रासस

प्रकाशित मिति: १६:३० बजे, बिहीबार, साउन १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्