आईपीएल: यूएईमा मुम्बईको पहिलो जित, कोलकाताले दिल्लीलाई हरायो
काठमाडौं, असोज १३ : कोरोना महामारीका कारण बीचमै रोकिएपछि युएईमा सारिएको आईपीएलको १४औं संस्करणमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ।मंगलबार अबुधाबीमा...
काठमाडौं, असोज १३ : कोरोना महामारीका कारण बीचमै रोकिएपछि युएईमा सारिएको आईपीएलको १४औं संस्करणमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ।
मंगलबार अबुधाबीमा भएको खेलमा मुम्बईले पञ्जाब किंग्समाथि ६ विकेटको जित निकाल्यो। यूएईमा लगातार तीन हारपछि मुम्बईको पहिलो जित हो।
यो जितसँगै मुम्बईले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ। ११ खेलमा १० अंक जोडेको मुम्बई पाँचौं स्थानमा छ। यता, पञ्जाब ८ अंकका साथ छैठौं स्थानमा छ।
पहिला ब्याटिङ गर्दै पञ्जाबले दिएको १३६ रनको लक्ष्य मुम्बईले १९औं ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। मुम्बईको जितमा सौरभ तिवारीले सर्वाधिक ४५ रन बनाए। उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
यस्तै, हार्दिक पाण्ड्याले ३० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाए भने क्वेन्डन डि ककले २९ बलमा २७ र केइरन पोलार्डले ७ बलमा १५ रन बनाए। पञ्जाबका रवि विस्नोइले २ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनायो। पञ्जाबका लागि एडन मक्रमले सर्वाधिक ४२ रन बनाउँदा दीपक हुडाले २८ र कप्तान केएल राहुले २१ रन बनाए। मुम्बईका जस्प्रित बुमराह र पोलार्डले दुई दुई विकेट लिए।
यसैगरी मंगलबार नै भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्यो। पहिला ब्याटिङ गर्दै दिल्लीले दिएको १२८ रनको लक्ष्य कोलकताले १८.२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो।
कोलकाताका लागि नितिश रानाले सर्वाधिक ३६ रन बनाउँदा सुभमन गिलले ३० र सुनिल नारेनले २१ रन बनाए। दिल्लीका आभेस खानले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदे १२७ रन बनायो। दिल्लीका लागि कप्तान ऋषव पन्त र स्टेभन स्थिमले समान ३९ रन बनाउँदा शिखर धवनले २४ रन जोडे।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। दिल्लीलाई सस्तैमा रोक्ने क्रममा वेन्कटेस ऐर, सुनिल नारेन र लोकेइ फर्गुसनले समान २ विकेट लिए भने टिम साउदीले १ विकेट लिए।
भारतमा भएको ७ खेलमा २ जित मात्र निकालेको कोलकाता नाइट राइडर्सले युएईमा भने उत्कृष्ट प्रदर्शन गरिरहेको छ। कोलकता यूएईमा ४ खेलमा ३ खेल जित्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। ११ खेलमा कोलकातालले १० अंक बनाएको छ। दिल्ली १६ अंकका साथ दोस्रो स्थानमा छ।











