जलवायु परिवर्तनका मुद्दा सञ्चारमाध्यमले महत्वका साथ उठाउनुपर्नेमा जोड
काठमाडौं, असोज १२ : जलवायु परिवर्तनको क्षेत्रका जानकारले जलवायु परिवर्तनका असरले आमनागरिकको जीवन सङ्कटमा पर्दै गएको मुद्दालाई सञ्चारमाध्यमले प्रभावकारीरूपमा उठाउनुपर्ने सुझाव दिएका छन्।...
काठमाडौं, असोज १२ : जलवायु परिवर्तनको क्षेत्रका जानकारले जलवायु परिवर्तनका असरले आमनागरिकको जीवन सङ्कटमा पर्दै गएको मुद्दालाई सञ्चारमाध्यमले प्रभावकारीरूपमा उठाउनुपर्ने सुझाव दिएका छन्। नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले आज सञ्चारमाध्यमका सम्पादकसँग आयोजना गरेको अन्तरक्र्रिया कार्यक्रममा उनीहरूले सो सुझाव दिएका हुन्।
स्कटल्याण्डको ग्लास्गोमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पक्ष राष्ट्रको २६ औँ सम्मेलनको तयारी र जलवायु परिवर्तनको नेपालको अवस्थाबारे कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा वातावरणविद् भूषण तुलाधरले जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरुमा विपद्का ठूलठूला घटना भइरहेको र यी घटनालाई सम्बोधन गर्न ढिलो भइसकेको बताए। जलवायु परिवर्तनले आमनागरिकको जीवन सङ्कटमा पर्दै गएको र यो मुद्दालाई सञ्चारमाध्यमले अझ प्रभावकारीरूपमा उठाउनुपर्ने उनको सुझाव थियो।
कार्यक्रमका ‘प्यानलिष्ट’ तुलाधरले अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सहभागी भएर आफ्ना मुद्दाहरु प्रभावकारीरूपमा राखे पनि जलवायु परिवर्तनबाट आमनागरिकलाई सुरक्षित राख्ने हो भने कामको सुरुआत नेपालबाटै गर्नुपर्ने बताए। ‘नीतिहरु राम्रा राम्रा बनेका छन् तर कार्यान्वयनमा सधैँ समस्या छ। कतिपय नीति सरकार आफैँले पनि उलङ्घन गरिरहेको छ,’ उनले उदाहरण दिँदै भने।
अर्का ‘प्यानलिष्ट’ एवं नेपाली टाइम्सका प्रधानसम्पादक कुन्द दीक्षितले जलवायु परिवर्तन राजनीतिक मुद्दा भएको र यो आमनागरिकको जनजीवनसँग प्रत्यक्षरूपमा जोडिएको बताए। जलवायु परिवर्तनले देशको अर्थतन्त्र, पानीको स्रोत, मानवीय स्वास्थ्यलगायतका क्षेत्रमा प्रत्यक्षरूपमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले यी विषयलाई अझै प्रभावकारीरूपमा उठाउनुपर्नेमा जोड दिए।
‘मानवीय स्वास्थ्य र सर्वसाधारणको बाँच्ने उमेरसमेत घटिरहेको अवस्था छ। अर्कोतिर देशको अर्थतन्त्र वातावरण प्रदूषण गर्ने प्रज्वलनशील इन्धनको आयातमा ठूलो खर्च भइरहेको छ। हाम्रोजस्तो मुलुकका लागि यो एउटा ठूलो सङ्कट हो,’ दीक्षितले भने, ‘अहिले देशमा भएका सङ्कटहरुको पिरामिडको टुप्पोमा जलवायु परिवर्तन छ, समाजमा विद्यमान हरेक समस्या कहीँ न कहीँ र कतै न कतैबाट यो मुद्दासँग जोडिएका छन। त्यसैले समाजका विद्यमान समस्या र समाधानका उपाय खोतल्ने हो भने जलवायु परिवर्तनबाट सिर्जित समस्या पनि सम्बोधन हुन्छन्।”












