ओली सरकार पूर्ण रूपले असफल : डा. महत
काठमाडौं, साउन १६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका....

काठमाडौं, साउन १६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनले भने,‘आफूले गरेका गलत कामबारे जनस्तरबाटै विरोध भएपछि सरकार जनतासँग झुक्ने परिस्थिति बनेको छ। सरकार तमाम काममा असफल भएको छ।’
उनले सरकारले सुरु–सुरुमा राष्ट्रियताको बारेमा ठूला–ठूला कुरा गर्ने गरेको र सत्तामा पुगेपछि लम्पसार परेको पनि आरोप लगाए। उनले भने,‘सुरुमा ओली सरकारले राष्ट्रियताको बारेमा ठूलो कुरा गर्यो, उहाँहरुले हाम्रै काँधमा राष्ट्रियता अडेकोजस्तो गर्नुभयो। तर, अहिले लम्पसार हुनुभयो। उहाँहरुको राष्ट्रियताको चर्को नारा भनेको त सत्तामा जाने भर्याङमात्रै हो।’
उनले सरकारले जनतासामू झुठो आश्वासनमात्रै दिएको तर बोलेका कुरा पूरा नगरेको आरोप लगाए। उनले भने,‘सरकारले सुशासन, रोजगारी, समृद्धिलगायतका कुरामा खोस्रा कुरा गरेको छ।’
फरका प्रसंगमा कांग्रेसले अर्को निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी जित्ने पनि उनको दाबी छ। उनले भने,‘हामी अब जनताको पीर, मर्कालाई आत्मसात गर्दै अघि बढ्छौं।’ पार्टीले अब संसद र सडक दुवै ठाउँमा आफ्नो गतिशिलतालाई तीव्रता दिने र जनताका आवाज उठाउने महतको भनाइ छ।
वर्तमान सरकार नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्धमा मात्रै नभएर पूरै विदेश सम्बन्धमा असफल भएको उनको आरोप छ।

-1784896419.png)









