मुख्यमन्त्री केसीसँग बुटवल कांग्रेसको भेट, उपमहानगरका समस्या समाधानकाे आग्रह

बुटवल, असोज १२ : नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको नवनिर्वाचित कार्यसमितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुटवलका समस्या समाधान गर्न भन्दै सातबुँदे मागपत्र पेस गरेको छ।
आज (मंगलबार) सभापति खेलराज पाण्डेको नेतृत्वमा गएको टोलीले गत भदौ १३ गतेको पहिरोले बुटवल–३ ज्योतिनगरका दर्जनौं घर परिवार विस्थापित गरेको स्मरण गराउँदै त्यहाँका पीडितलाई तत्काल राहत प्रदान गर्न र दीर्घकालीन रूपमा समस्या समाधन गर्न माग गरेको हो।
त्यसअघि भदौ ११ गतेको वर्षाले बुटवल–११ बुद्धनगरका आधा दर्जनभन्दा बढी घरपरिवार विस्थापित गरेको जानकारी दिँदै त्यसतर्फ पनि ध्यान दिन टोलीले अनुरोध गरेको छ।
चौराह–गोलपार्क ६ लेन सडक, कालिका पथ तथा बेलबास–बेथरी सडक विस्तारलाई तीव्रता दिन पनि माग गरिएको छ। बुटवलका सडक हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा यात्रु तथा सहरवासीको स्वास्थ्यमा असर गरिरहेको स्मरण गराउँदै दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुख्यमन्त्री केसीको ध्यानाकर्षण गराइएको छ।
मुख्यमन्त्री केसीले तत्काल राहत तथा पुनःस्थापनका लागि जिल्ला प्रशासन कार्यालयलाई तथ्याङ्क संकलनका लागि निर्देशन गरिएको बताए।














