Kathmandu Press

महालक्ष्मीको १६ दिने व्रत समापन गरिँदै

काठमाडौं, असोज १२ : वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिन लामो महालक्ष्मी व्रत आज समापन गर्दै छन्। धनधान्यकीदेवी महालक्ष्मीलाई प्रसन्न गराउने...
महालक्ष्मीको १६ दिने व्रत समापन गरिँदै

काठमाडौं, असोज १२ : वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिन लामो महालक्ष्मी व्रत आज समापन गर्दै छन्।
 
धनधान्यकीदेवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ। भाद्र शुक्ल अष्टमीदेखि १६ दिन अर्थात् आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ।

यसवर्ष भदौ २८ गते सोमबारदेखि सुरु भएको यो व्रत आज विधिपूर्वक समापन गरिँदै छ। यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ।  
  
प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एक पटकमात्र नून खाएर महालक्ष्मी व्रत गरिन्छ। १६ दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अर्घ्य दिने गरिन्छ।

Hardik ivf

यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ। यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन्। यो व्रतले घरमा महालक्ष्मीको बास भई दुःख दारिद्रय नाश भई सुख शान्ति मिल्ने धार्मिक विश्वास छ।

साक्षात् भगावन शङ्करले यो व्रतविधि भगवती पार्वतीलाई बताउनुभएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले राससलाई जानकारी दिए। यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने शास्त्रीय मान्यता छ। 
 
देवराज इन्द्रलेसमेत महालक्ष्मीको व्रत एवं पूजाआराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्रसमेत रचना गरेको महालक्ष्मी व्रतविधिमा उल्लेख गरिएको छ। बिहान, मध्यान्ह र साँझसमेत तीन पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख वैभव प्राप्त गर्नुका साथै शत्रुसमेत नाश हुने उनले बताए।
 
प्रत्येक वर्ष भाद्र शुक्ल सप्तमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, आश्विन शुक्लपूर्णिमा र कात्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेष रुपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ। आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गरिन्छ।
 
आज बिहान विधिपूर्वक महालक्ष्मीको पूजा आराधना गरी बेलुकी चन्द्रमालाई अघ्र्य दिएर यस वर्षको महालक्ष्मी व्रत समापन हुन्छ । यो व्रतविधि पहिले जस्तो प्रचलनमा नरहेकाले यसको संरक्षण गरिनुपर्ने धर्मशास्त्रविद प्रा.डा. रामचन्द्र गौतमले बताए।

प्रकाशित मिति: १६:१५ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्