Kathmandu Press

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौं, साउन १६ : प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गतेसम्मका लागि स्थगित गरिएको छ।

संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहाद....

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित
फाइल फोटो

काठमाडौं, साउन १६ : प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गतेसम्मका लागि स्थगित गरिएको छ।

संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले बोलाएको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि बिहीबारका लागि बोलाईएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।

संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन संचालन गर्नुपर्छ भन्नेमा सबै दलहरु सकारात्मक देखिए पनि आ–आफ्नै अडानमा कायम रहेकाले सहमति जुट्न नसकेको जनाएको छ। सर्वदलीय छलफल निष्कर्षमा पुग्न नसकेपछि सचिवालयले सुचना टाँसेर ‘अवरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकाले बस्ने नसक्ने हुँदा’ बैठक स्थगित गरिएको जनाएको छ।

बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल, राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतको उपस्थिति थियो।

नेत्र विक्रम चन्द्र विप्लब समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दे कांग्रेस र राजपाले असार २४ गते देखि सदन अवरुद्ध गर्दै आएका छन्।

पौडेलले लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसंगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्य तथ्य छानविन हुनुपर्ने माग गर्दे आएको हो।

त्यसैगरी सर्लाहीको श्रीनगरस्थित बाँके खोलामा अबैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमितकुमार रायको मृत्यु भएपछि भएको प्रर्दशनका क्रममा प्रहरीे चलाएको गोली लागि सिंहको मृत्यु भएको थियो।

प्रकाशित मिति: १५:२२ बजे, बिहीबार, साउन १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्