Kathmandu Press

विराजले च्यासलबाट ‘ए’ डिभिजन लिग खेल्ने

काठमाडौं, असोज १२ : अनुभवी डिफेन्डर विराज महर्जनले च्यासल युथ क्लबबाट आसन्न सहिद स्मारक ‘ए’ डिभजिन लिग खेल्ने भएका छन्।नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विराजले...
विराजले च्यासलबाट ‘ए’ डिभिजन लिग खेल्ने

काठमाडौं, असोज १२ : अनुभवी डिफेन्डर विराज महर्जनले च्यासल युथ क्लबबाट आसन्न सहिद स्मारक ‘ए’ डिभजिन लिग खेल्ने भएका छन्।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विराजले ए डिभिजन लिगका लागि मंगलबार सम्झौता गरेका छन्। ती क्लबबाट ‘ए’ डिभिजन लिग जितेका विराज मच्छिन्द्र क्लब छाड्दै च्यासलमा आबद्ध भएका हुन्।

लेफ्ट ब्याक विराजले थ्री स्टार, मनाङ मर्स्याङ्दी र मच्छिन्द्रबाट लिग उपाधि जितेका छन्। मनाङ र मच्छिन्द्रले उनकै नेतृत्वमा लिग जितेका हुन्।


च्यासलले विराजसँग सम्झौता गर्दै उनलाई कप्तानको जिम्मेवारी पनि दिएको छ। नेपाली राष्ट्रिय टिमलाई पनि कप्तानी गरिसकेका विराजले गत वैशाखमा भएको थ्री नेसन्स कपपछि राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरेका थिए। 

अखिल नेपाल फुलटबल संघ (एन्फा) एकेडेमीका उत्पादन विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट ७३ खेल खेलिसकेका छन्। विराजकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप र १२औं दक्षिण एसियाल खेलकुद (साग) को उपाधि जितेको थियो । 

यसैगरी ए डिभिजन लिगका लागि च्यासलले अन्तर्राष्ट्रिय खेलकुद सामाग्री उत्पादक कम्पनी  ‘युक्यान’सँग ‘किट’ प्रयोजक सम्झैता गरेको छ। युक्यानले ३० वर्षदेखि खेलकुद सामग्री उत्पादन गर्दै आएको छ।

प्रायोजन सम्झैतापत्रमा यूक्यानका तर्फबाट सीटीएल कम्पनी प्रालीका प्रबन्ध निर्देशक राजेन महर्जन र च्यासल युथ क्लबका तर्फबाट अध्यक्ष रमेश व्यञ्जनकारले हस्ताक्षर गरेका छन्।

सम्झैताअनुसार सीटीएलले क्लबलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउनेछ । त्यस्तै च्यासल युथ क्लबले सिजनभर यूक्यान ब्रान्डको सामाग्री प्रयोग गर्नेछ। 

यस्तै, च्यासल युव क्लबले प्राविधिक निर्देशक पनि नियुक्त गरेको छ। च्यासलले स्कटलल्यान्डका लि मान्सनलाई प्राविधिक निर्देशक नियुक्त गरेको हो। उनी २५ वर्षदेखि फुटबल प्राविधिक निर्देशकका रुपमा कार्यरत छन्। 

मासन पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रुपमा आवद्ध थिए । उनीसँग फिलिपिन्सको पुरुष यू–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ । मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए ।

प्रकाशित मिति: १५:०० बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्