विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित पाँचजना पक्राउ
प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, असोज १२ : प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं कीर्तिपुर–६ आदिनाथ मन्दिर जाने बाटोबाट करिब एक किलो अवैध लागूऔषध पोल्याण्डसहित सोही नगरपालिका–९ बस्ने मकवानपुर थाहा नगरपालिका–११ भरका १७ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
झापा बिर्तामोड–१ बाट एक सय ४६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर, नगद दुई लाख ६९ हजार तीन सय रुपैयाँ, एक थान डिजिटल तराजु र एक थान क्यामेरासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–९ का टेकराज साह र विकास मर्डी छन् ।
सुर्खेत वीरेन्द्रनगर–६ खोर्केलाइन डेरा गरी बस्ने २० वर्षीय अरमान खानलाई ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ र दुई थान मोबाइलसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
यस्तै, दाङ तुलसीपुर–११ जसपुरबाट चार सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ सहित दंगिशरण गाउँपालिका–२ का १५ वर्षीय किशोर पक्राउ परेका छन् ।












