दुर्घटनाहरूमा पाँचजनाको मृत्यु
विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।
काठमाडौं, असोज १२ : विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।
भक्तपुर सूर्यविनायक–५ सल्लाघारी चोकमा प्रदेश ३–०२–००८ प २५०१ नम्बरको मोटरसाइकललाई आरजे ०२ जीबी १९१७ नम्बरको टेलर गाडीले सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर बालकोट बस्ने ४५ वर्षीय गणेश रजौराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।
कपिलवस्तु महाराजगञ्ज–६ सानो बुटनियास्थित खेत जोत्ने क्रममा लु४त ७९२१ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा सोही ठाउँमा २२ वर्षीय दिलिप कहारको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
रुपन्देही सैनामैना–५ बुद्धनगरमा ना८ख ४४११ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २२ वर्षीय महेश भट्टराईको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मोरङ रतुवामाई–८ आमडाँडामा मे१त ४४८७ नम्बरको ट्रयाक्टर र प्र–३–०२–००२ प ४५८७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार रतुवामाई–८ का २८ वर्षीय यादव पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचार क्रममा मृत्यु भएको हो ।












