Kathmandu Press

योगेशलाई शुभकामनाकाे ओइराेसँगै खबरदारी र चेतावनी

काठमाडौं, साउन १६ : नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त भएपछि सामाजिक सञ्जाल शुभकामना र बधाईले भरिएका छन्। बधाई दिने उनका सहक....

योगेशलाई शुभकामनाकाे ओइराेसँगै खबरदारी र चेतावनी

काठमाडौं, साउन १६ : नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त भएपछि सामाजिक सञ्जाल शुभकामना र बधाईले भरिएका छन्। बधाई दिने उनका सहकर्मीमध्ये धेरैले सफलताका लागि चिन्ता व्यक्त गरेका छन्। केहीले चाहिँ थरि-थरि ‘डाइलग’ हानेका छन् भने केहीले खबरदारी पनि गरेका छन्।

योगेशसँग सबैभन्दा निकट मानिने उनीभन्दा अग्रज नेकपा स्थायी कमिटी सदस्य मार्क्सवादी चिन्तक घनश्याम भुसालले फेसबुक वालमा लेखे, ‘कमरेड योगेश भट्टराई, तपाईंलाई बधाई छ। तपाईंले आजसम्म लिएका हरेक ज़िम्मेवारी जुन शानका साथ पूरा गर्नुभएको छ, यो ज़िम्मेवारी पनि त्यही योग्यताका साथ सम्पन्न हुनेछ। हामी आफैंले बनाएका र कबुलेका मूल्यहरूले हामीलाई यहाँसम्म टिकाएका छन्। र, हामी जानुपर्ने टाढा छ।’

योगेशनिकट मानिने नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भने योगेशको सत्तारोहणलाई आगोको भुङ्ग्रोमा पसेको महसुस गरेकी छिन्। उनले योगेशलाई बधाइ दिँदै लेखेकी छिन्, ‘सरकार अलोकप्रियताको भूंग्रोमा छ। दाइ त्यही भूंग्रोमा पर्नुभयो ऐले। मेरो आमा भन्नु हुन्थ्यो जुन भूंग्रोमा परे पनि निस्कनुपर्छ। हो याेगेश भट्टराई भूंग्रोबाट निस्कनुपर्छ, हार्दिक बधाई अनि शुभकामना! ’

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै कारण अप्ठेरोमा परकेकाले मुट्ठी केही खुकुलो बनाउँदै योगेशलाई मन्त्री बनाएको उनको विश्लेषण छ ।

युवा नेतृ झाँक्रीले अर्को स्ट्याटसमा लेखेकी छिन्, ‘नेकपाको सरकारलाई सफल बनाऊन केही मन्त्रीहरु हेरफेर गर्नु आवश्यक छ केपी कमरेडको क्याबिनेटमा केही आशाका भरोसा आदरणिय कमरेडहरुलाई ल्याउनु जरुरी छ। हिजो कमरेड योगेश भट्टराईको इन्ट्री भयो अब कमरेड भिम रावल, कमरेड घनश्याम भुषाल र कमरेड जनार्दन शर्मा यो क्याबिनेटमा ईन भएको देख्न पाईयोस। यसका लागि सबै आम कार्यकर्ताले नेतृत्वलाई आफ्नो ठाउँबाट दबाब दियौं। ’

योगेश भट्टराई एमाले प्रचार विभाग प्रमुख हुँदा उपप्रमुख थिए नेकपाका केन्द्रीय सदस्य सूर्य थापा। उनले योगेशलाई मन्त्री र सेलिब्रिटी एकसाथ हुन संभव नहुने सुझाव दिए।

चार महिना अघि नै प्रधानमन्त्रीले योगेशलाई पर्यटनमन्त्री बनाउन चाहेको भए पनि योगेशकै कारण यो ढिला भएको उनको दाबी छ। ‘यो जिम्मेवारी कम्तीमा ४ महिनाअघि नै आएको थाहा थियो! त्यतिबेला भएको भए नीति, कार्यक्रम र बजेट निर्माणमा भूमिका हुन्थ्यो र अहिले काम गर्न धेरै सहज हुन्थ्यो। आफ्नै कारणले मन्त्री बन्न ढिलो भयो। आज यथार्थको धरातलमा उभिएर मन्त्री हुनुभएको छ,’ थापाले लेखे, ‘गन्तव्य एक थान मन्त्री हुनु मात्र किमार्थ होइन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुने साविक नेकपा (एमाले) धाराको तपाईं ११औँ व्यक्ति हो। यो मन्त्रालय सम्हालेर र सम्हालिएर अघि बढेका नेताहरुको राम्रैसँग उन्नति र प्रगति भएको छ। आफ्नो विवेक र संस्थागत निर्णयका साथ कार्य गरेर अघि बढ्नचाहि धेरै जरूरी छ! खासमा मन्त्री र सेलिब्रेटी दुवै एकसाथ हुन संभव नहोला!! किनभने, अब वास्तविक परीक्षा शुरू भएको छ।’

थापाले योगेशमा योग्यता, क्षमता र कार्यसम्पादनको समस्या र कमी नभएको बताउँदै फेसबुक वालमा लेखेका छन्, ‘प्रतिकूलताको सामना गर्न आवश्यक आँटको कमी पनि छैन, तर परिणाम निकाल्ने सुझबुझ र सामर्थ्यचाहि व्यवहारमा नै देखिनु अपरिहार्य छ। हार्दिक बधाई! आदरणीय कमरेड तथा नवनियुक्त मन्त्री योगेश भट्टराई!! त्यहाँ अनेकन् एम्बुसहरू थापिएको स्पष्टै छ, माफीया र स्वार्थ समूहका घेराबन्दीलाई छिचोलेर उदाहरणीय बन्न सफल कार्यकालको शुभकामना!!!’

उनीबाट सिक्दै राजनीति गरिरहेका युवा विद्यार्थीको निन्ता भने बेग्लै छ। नारायणी देवकोटाले लेखेकी छिन्, ‘धेरै धेरै शुभकामना दाइ, आजसम्म जुन मुल्यमा अडिनु भएको छ, जुन सहास हिम्मतले आफ्नो ठाउँ बनाउनु भएको छ, उक्त शान, हिम्मत र सादगी रहिरहोस्, गर्व गर्ने गरि काम गर्नु हुनेछ बिश्वास गरेका छौं हामीले।’

त्यस्तै, भक्तकुमारी लामाको टिप्पणी रामकुमारीसँग मिल्दोजुल्दो छ, ‘धेरै ठूलो आगोको भुप्रोमा हाम फाल्नु भएको छ दाइ अग्निपरिक्षा पनि ठुलै हुन्छ, यो अग्निपरिक्षामा गतिलो अंककासाथ उत्कृष्ट नतीजा ल्याउनु हाम्रो शिर अझै उँचो हुनेछ दाइ हार्दिक बधाइ तथा कार्यकाल सफलताको कामना।’

योगेश भट्टराईसँग राजनीतिक सानिध्यता राख्नेहरूले चिन्ता व्यक्त गर्दै सचेत गराए पनि उनलाई राजनीतिक प्रतिस्पर्धी मान्नेहरूको भने कुनै टिप्पणी छैन। पार्टीमा योगेशभन्दा विपरीत गुटबाट अघि बढेका उनका राजनीतिक प्रतिद्वन्द्वीहरू प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कानूनमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रदेश १ का गृहमन्त्री हिक्मत कार्की, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले भने ‘मन्त्री भएकोमा हार्दिक बधाई’ मात्र लेखेका छन्।

उता मन्त्री भएको भोलिपल्टै योगेशले भने आफूले सोचेअनुसार काम गर्न नसकेमा पद ओगटेर नबस्ने बताएका छन्। बिहीबार तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै उनले आफू असफल भएको महसुस हुनासाथ पद छाड्ने बताए। ‘जुन दिन मैले कम गर्न सकिन् भन्ने महसुस हुन्छ, त्यही दिन म पद छाड्छु,’ उनले भने।

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, साउन १६, २०७६