Kathmandu Press

साफ च्याम्पियनसिप खेल्न नेपाली टोलीमा माल्दिभ्समा

साफ च्याम्पियनसिप खेल्न नेपाली टोलीमा माल्दिभ्समा

काठमाडौं, असोज १२ : साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ।

नेपाली टोली कतारमा दुई साता प्रशिक्षण गरेर सोमाबार साँझ माल्दिभ्स पुगेको हो। असोज १५ गते नेपाल र मालदिभ्सबीच पहिलो खेल हुनेछ।

साफ च्याम्पियनसिपका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार मात्र २३ सदस्यीय टिम घोषणा गरेका थिए। उनले कतार भ्रमणमा रहेका २५ खेलाडीबाट गोलकिपर विकेश कुथु र डिफेन्डर राजन गुरुङलाई बाहिर राख्दै टिम घोषणा गरेका थिए।

१३औं संस्करणको साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्सको राजधानी मालेमा आयोजना हुँदै छ। प्रतियोगिताको पहिलो दिन नै नेपालले आयोजक माल्दिभ्ससँग खेल्नेछ।  

नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १८ गते खेल्नेछ। त्यस्तै, तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा भिड्नेछ।

कोरोनाका कारण पाकिस्तान र भुटान सहभागी नहुने भएपपछि यो पटक साफ च्याम्पियनसिपमा पाँच टोली मात्र छन्। सिंगल राउन्ड रोबिनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ ।

साफ च्याम्पियन्सपका लागि नेपाली टोलीले तीन महिनाभन्दा बढी समयदेखि प्रशिक्षण गरिरहेको छ। साफ च्याम्पियनसिपकै तयारीका लागि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेका थियो भने कतारमा आइतबार मात्र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

प्रकाशित मिति: ०६:४४ बजे, मंगलबार, असोज १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्