Kathmandu Press

बागलुङ कांग्रेस पालिका अधिवेशन : नेतृत्वमा महिला शून्य

बलेवा, असोज ११ : आसन्न १४औं महाधिवेशनका लागि शनिबारदेखि सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका आठ स्थानीय तहमा नेतृत्व चयन भएको छ।...
बागलुङ कांग्रेस पालिका अधिवेशन : नेतृत्वमा महिला शून्य

बलेवा, असोज ११ : आसन्न १४औं महाधिवेशनका लागि शनिबारदेखि सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका आठ स्थानीय तहमा नेतृत्व चयन भएको छ। चयन भएकामध्ये तीन नगरपालिका र पाँच गाउँपालिका छन्।

नेतृत्व चयन गर्न बाँकी एक गाउँपालिका र एक नगरपालिका छन्। हालसम्म निर्वाचन सम्पन्न भएका स्थानीय तहमा निर्वाचित भएको नेतृत्व हेर्दा महिलाको सहभागिता शून्य छ। आठ स्थानीय तहमा निर्वाचन सम्पन्न हुँदा कहीँ पनि महिला नेतृत्वमा नआएको निर्वाचन समितिले जनाएको छ। 
    
सर्वसम्मत नेतृत्व चयन भएका पालिकामा महिलाको नाम नै उच्चारण भएन भने निर्वाचन भएका पालिकामा पनि महिला प्रतिस्पर्धाका लागि तयार देखिएनन् । गलकोट नगरपालिकामा आइतबार साँझसम्म सर्वसम्मतको प्रयास भएका कारण निर्वाचन हुन सकेको छैन। आजसम्ममा मतदान प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाइने निर्वाचन समितिले जनाएको छ। 

Hardik ivf

बरेङ गाउँपालिकामा पार्टीभित्रै सदस्यताका विषयमा विवाद हुँदा निर्वाचनका कार्यक्रम स्थगन भएको कांग्रेसका एक नेताले बताए। बरेङमा निर्वाचन हुने वा सर्वसम्मत नेतृत्व चयन हुने टुङ्गो छैन। निर्वाचनबाट नेतृत्व चयन भएकामध्ये ढोरपाटन नगरपालिकामा धनबहादुर कायत निर्वाचित हुनुभएको छ। 

जैमिनी नगरपालिकामा प्रेमप्रसाद सापकोटा निर्वाचित भए। ताराखोला गाउँपालिकामा कमलापति पाठक सर्वसम्मत निर्वाचित भएका थिए। निसीखोला गाउँपालिकामा सूर्यबहादुर घर्ती, तमानखोला गाउँपालिकामा लीलाबहादुर छन्त्याल र काठेखोला गाउँपालिकामा यामदत्त कँडेल सर्वसम्मत चयन भए। 

बागलुङका १० स्थानीय तहमध्ये सबैको ध्यान केन्द्रित गरेको बागलुङ नगरपालिकाको निर्वाचनबाट युवा नेता उमाकान्त शर्मा निर्वाचित भए।

अर्को पक्षबाट उम्मेदवार बनेका कर्ण हमाललाई उनले ६२ मतान्तरले पराजित गरे। खसेको ३८८ मतमध्ये शर्माले २२४ मत र हमालले १६२ मत प्राप्त गरे। सभापति मात्रै होइन उपसभापति, सचिव र सहसचिव पदमा समेत महिलाको सहभागिता शून्य छ। कोषध्यक्ष निर्वाचित पदाधिकारीको बैठकले मनोनयन गर्ने भएकाले महिला पदाधिकारीमा ल्याउने सम्भावना बाँकी रहेको एक नेताले बताए।

गत भदौ २१ गते भएको वडा अधिवेशनमा भने ८४ वडामा निर्विरोध नेतृत्व चयन भएका थिए। ढोरपाटन नगरपालिका–५ मा मात्रै सभापतिका लागि निर्वाचन गर्नुपरेको थियो। वडा तहमा समेत महिला सहभागिता छैन।

‘नेतृत्वमा महिला नआउनु यो दुर्भाग्य हो,’ महिला नेत्री ज्ञानु श्रीष शर्माले भनिन्, ‘बिहानमै व्यवस्था गरेर पदाधिकारीमा महिलाको सहभागिता अनिवार्य गर्नुपर्छ।’

प्रकाशित मिति: १४:३१ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्