Kathmandu Press

पदयात्रामा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

पोखरा, असोज ११ : पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी हुने भएका...
पदयात्रामा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

पोखरा, असोज ११ : पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी हुने भएका छन्।

गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहेका कूटनीतिज्ञ विश्व पर्यटन दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्न लागेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए।

Hardik ivf

कार्यक्रमअनुसार कूटनीतिज्ञ बिहान कास्कीकोटदेखि नौडाँडासम्म छोटो दूरीको हाइकिङमा सहभागी बन्नुहुनेछ। हाइकिङपश्चात् दिउँसो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र डेभिज फल्सको अवलोकन गर्नेछन्।

त्यसपछि फेवातालमा डुङ्गा शयर गर्ने र साँझ फेवातालको बाराही घाटमा गरिने आरती अवलोकन गर्ने कार्यक्रम रहेको उनले बताए।

विश्व पर्यटन दिवसकै अवसरमा साँझ रेष्टुराँ एन्ड बार एशोसिएशन पोखराद्वारा आयोजित सांस्कृतिक कार्यक्रम, विभिन्न ठाउँको प्रवर्द्धनात्मक सामग्रीको प्रदर्शन, नेपाली परम्परागत तथा विभिन्न देशका खानाका परिकारसहितको सडक महोत्सवमा उनीहरु सहभागी हुने भएका छन्।

विगतका वर्षमा विश्व पर्यटन दिवसका दिन पहिलो उडानमार्फत पोखरा आउने विदेशी पर्यटक तथा सवारी साधनमार्फत आउने पर्यटकलाई सम्मान गर्ने तथा अन्य विभिन्न कार्यक्रम गरिने गरिएकोमा विदेशी विशिष्ट कूटनीतिज्ञलाई सहभागी बनाइएको भने पहिलो पटक हो।

कोरोनाले प्रभावित पोखराको पर्यटनलाई विश्व बजारमा सकारात्मक सन्देश दिनका लागि विदेशी कूटनीतिज्ञको पोखरा भ्रमण फलदायी हुने विश्वास लिइएको गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले बताए। (रासस)

प्रकाशित मिति: ०८:२६ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्