पर्यटनमन्त्री भट्टराईले भने,‘रवीन्द्र अधिकारीको उत्तराधिकारी भएर आएको छु’
काठमाडौं, साउन १५ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले लिएकाे ब....
काठमाडौं, साउन १५ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले लिएकाे बाटाेमा आफू हिड्ने बताएका छन्।
बुधबार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकारहरुसँग कुराकानी गर्दै नवनियुक्त मन्त्री भट्टराईले स्वर्गीय अधिकारीकाे उत्तराधिकारीका रूपमा जिम्मेवारी सम्हालन आइपुगेको र अधिकारीले लिएकाे बाटाेलाई नै आफूले समात्ने बताएका हुन्। उनले पर्यटन विकासबारे अधिकारीले लिएको बाटो र सपनालाई पूरा गर्ने पनि बताए।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकाे गत फागुनमा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्दै आएका थिए। उनले प्रधानमन्त्रीले लिएकाे सपनाकाे बाटाे पूरा गर्न कर्मचारीहरुसँग मिलेर अगाडि बढ्ने र ढुक्क भएर काम गर्न समेत निर्देशन दिए।
यो पनि: सेलिब्रिटी नेताको सिंहदरबार परीक्षा
के-के काम गर्ने भन्ने विषय प्रधानमन्त्रीसँग करार सम्झाैता गर्ने समेत उनले बताए। मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष-२०२० लाई सफल पार्ने, हवाइ सुरक्षामा सुधार, नेपाल वायुसेवा निगमकाे व्यवस्थापन सुधारमा विशेष जाेड दिने बताए। उनले नेपाल भ्रमण वर्षमा लिएकाे लक्ष्य हासिल गर्न सबै शक्ति र तागत लगाउने बताए।
उनले गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा विशेष जाेड दिने बताए।
निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल आफ्नै कार्यकालमा सम्पन्न गर्ने घाेषणा समेत मन्त्री भट्टराईले गरे। आन्तरिक विमानस्थलकाे सुधारका साथै निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने समेत भट्टराईले बताए।






