Kathmandu Press

एउटा संसद बैठकको खर्च ७ लाख रूपैयाँ !

काठमाडौं, साउन १५ : प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको छ। 

प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि आव....

एउटा संसद बैठकको खर्च ७ लाख रूपैयाँ !
फाइल

काठमाडौं, साउन १५ : प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको छ। 

प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि आवश्यक पूर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत गरी प्रति बैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने संघीय संसद सचिवालयले जनाएको छ।

यो बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रशारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको वार्षिक भाडा, पानी, बिजुली लगायतमा हुने खर्चहरुको एक मुष्ठ रकम हो। बैठक बस्ने दिन मर्यादापालक लगायत सचिवालयका अन्य कर्मचारीहरु आधा घण्टा अघिदेखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ।

बैठकको पूर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने समेत गरी प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च भइरहेको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए।

बैठक अवरुद्ध हुँदा पनि सचिवालयको यो खर्चमा भने कटौती हुँदैन। बैठक अवरुद्ध भएपनि सचिवालयले सांसदहरुलाई बैठक भत्तावापत एक हजार र यातायात बापत एक हजार गरी प्रति सांसद दुई हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने हुन्छ।

संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानी लगायतमा मासिक १२ लाख खर्च हुने गरेको प्रवक्ता पाण्डेले बताए। बैठक अवरुद्ध हुँदा बैठकका कार्यसूचीलाई मात्रै प्रभाव पार्ने भएकाले यो खर्च सचिवालयका लागि अनावश्यक व्ययभारको रुपमा रहने गर्दछ।

दैनिक जसो बैठक अवरुद्ध हुँदा जनताको सरोकार राख्ने विषयले सदनमा प्रवेश नपाउने तर सचिवालयको आर्थिक व्ययभार बढ्दै गएको देखिएको छ।
 
 

प्रकाशित मिति: १६:४१ बजे, बुधबार, साउन १५, २०७६