Kathmandu Press

जङ्गली हात्ती पीडितका गुनासो, खै कसरी अन्नबाली जोगाउनु अब’

जङ्गली हात्ती पीडितका गुनासो, खै कसरी अन्नबाली जोगाउनु अब’

झापा, असोज १० : मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख थिए। शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किएका उनले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गरे। उनको खुसी भारतीय जङ्गली हात्तीले एक दिन पनि टिक्न दिएन। 

शुक्रबार राति १० कठ्ठा जमिनको धान हात्तीले खाएर र माडेर सखाप पारिदियो। उनले निरास हुँदै भने, ‘पाक्न लागेको बाली सखाप पारिदियो, अब के खाएर बाँच्नु ।’ उनी मात्र होइन दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीको उपद्रो बढ्न थालेपछि बाहुनडाँगीवासी चिन्तित छन्।

Hardik ivf

उनकै छिमेकी रमेश भुजेलको १० कठ्ठा, नन्द अधिकारीको पाँच कठ्ठा, कैलाश भण्डारीको पाँच कठ्ठा गरी डेढ बिघा जमिनको धान एकै रातमा हात्तीले खाइदिएको छ । मेची नदीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतीय जङ्गली हात्तीले बस्ती पसेर दैनिकजसो उपद्रो मच्चाउन थालेका छन्।

हात्ती छेक्न विसं २०७२ मा विश्व बैंकको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेची नदी किनारमा १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाएको थियो । सोही तारवारका कारण आठ वर्षसम्म ढुक्कले निदाएका बाहुनडाँगीवासी हात्ती गाउँ पस्न थालेपछि रातभर जाग्राम बस्न थालेको स्थानीयवासी शङ्कर लुइँटेलले बताए। ‘ज्यान जोगाउनै मुस्किल छ,’ उनले भने, ‘खै कसरी पाक्न लागेको अन्नबाली जोगाउनु अब।’

विद्युतीय तारबारको उचित मर्मतसम्भार नुहँदा दैनिकजसो भारतीय जङ्गली हात्तीले भत्काएर नेपाल प्रवेश गर्न थालेका छन्। प्रवेश गर्ने हात्तीले मेचीनगर–१, २, ३ र ४ मा बढी दुःख दिइरहेको उनको भनाइ छ। जिल्लाका बुद्धशान्ति गाउँपालिका, भद्रपुर, कनकाई र दमक नगरपालिकामा पनि हात्तीले दुःख दिइरहेको छ। अन्नबालीमा खाइदिए वा घर भत्काएमा डिभिजन वन कार्यालयले रु १० हजार क्षतिपूर्ति दिँदै आएको छ। 

रकम पाउनका लागि लामो समय कुर्नुपर्ने र पटकपटक कार्यालय धाउनुपर्ने झन्झटिलो प्रक्रियाबाट दिक्क भएका हात्तीपीडितले निवेदन नै दिन छोडेको मेचीनगर–३ का स्थानीय राजीव माझीले बताए। रासस

प्रकाशित मिति: ०९:५० बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्