अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं, असोज ९ : पर्साको वीरगन्ज महानगरपालिका–१५ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याब्लेट १ हजार ४ सय ७० पिससहित दुईजनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१७ अलौ बस्ने ३९ वर्षीय बिनोद दास हरिजन र सोही महानगरपालिका–१७ सिमान टोल बस्ने २३ वर्षीय सुनिल साह रहेका छन्।
विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले ना३५प ४०४८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
उनीहरुउपर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका(१६ स्थित सडकबाट ८३ केजी अवैध लागूऔषध गाँजा सहित सोही उपमहानगरपालिका टाङगिया बस्ती टोल बस्ने ४१ वर्षीय रुक बहादुर रुम्बालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएपछि बोरा तलासी गर्दा उक्त गाँजा फेला परेको हो।
साथै उक्त बोरा फाली भाग्ने व्यक्तिमध्ये रुम्बालाई प्रहरीले पक्राउ गरेको हो। साथै बा।३७ प ९६८१ नम्बरको मोटरसाइकल र १ थान साईकल समेत प्रहरीले बरामद गरेको छ। हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












