Kathmandu Press

भोजपुरमा गाउँपालिका अध्यक्षद्वारा वडाध्यक्षमाथि कुटपिट

भोजपुरमा गाउँपालिका अध्यक्षद्वारा वडाध्यक्षमाथि कुटपिट

भोजपुर, असोज ९ : स्वास्थ्य चौकीका एक कर्मचारीले पारिश्रमिक नपाएको भन्ने निहुँमा भएको विवादमा गाउँपालिका अध्यक्षले वडाध्यक्षमाथि कुटपिट गरेका छन्।

भोजपुरमा साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले सोही गाउँपालिका वडा २ का अध्यक्ष मानबहादुर खत्रीमाथि हातपात गरेका हुन्।

वडा २ मा रहेको अस्थायी कोभिड अस्पताल तथा कुलुङ स्वास्थ्य चौकीमा कार्यरत भवीन्द्र कार्कीले लामो समयदेखि पारिश्रमिक नपाएको विषयमा उनीहरूबीच विवाद भएको थियो।

पारिश्रमिक नपाएको विषयमा वडा २ का केही स्थानीयसहित गाउँपालिका अध्यक्ष राईलाई भेट्न गएको तर नभेटेपछि निवेदन छाडेर कुलुङतर्फ फर्केने क्रममा बाटमै अध्यक्ष राईले आफूमाथि हातपात  गरेको आरोप वडाध्यक्ष खत्रीले लगाए। खत्री एमाले जिल्ला कमिटी सदस्य पनि हुन्।

वडाध्यक्षमाथि हातपात भएको भन्दै एमाले भोजपुरले घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाही माग गर्दै विज्ञप्तिसमेत निकालेको छ।

‘हाम्रो पार्टि जिल्ला कमिटी सदस्य तथा वडा २ का अध्यक्ष मानबहादुर खत्रीमाथि गाउँपालिका अध्यक्ष महेश राईले हातपात गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले गरेको दुव्यवहारप्रति खेद व्यक्त गर्दै गम्भीर ध्यानाकर्षण भएको व्यहोरा अवगत गराउन चाहन्छौं।’

यता गाउँपालिका अध्यक्ष राई भने त्यस्तो कुनै विवाद नभएको प्रस्टीकरण दिएका छन्।  ‘हामीबीच खास त्यस्तो ठूलो विवाद भएको होइन,’ उनले भने, ‘घटनालाई राजनीतीकरण गर्न खोजिएको मात्र हो।’

प्रकाशित मिति: १३:४२ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्