Kathmandu Press

दसैँ मनाउन घर फर्किनेको लर्को

दसैँ मनाउन घर फर्किनेको लर्को

नेपालगञ्ज, असोज ९ : दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को सुरू भएको छ। 

रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेका छन्। दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ। 

नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक करिब एक हजार ५०० व्यक्ति स्वदेश भित्रिरहेको जमुनाह प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले जानकारी दिए। 

Hardik ivf

उनका अनुसार, अहिले भारततर्फ जानेभन्दा स्वदेश फर्किनेको सङ्ख्या धेरै छ। दसैँ तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर पुगेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेका छन्।

स्थानीय तथा प्रदेश सरकारले कामका लागि भारत जानेको सङ्ख्यामा कमी ल्याउने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने लागू हुन सकेको छैन। लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन् । 

मौसमीरुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीको समयमा भने स्वदेश फर्किने गर्छन्। आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमूलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या अधिक छ।

दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजक बनाइएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। 

उनका अनुसार, भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न भारतीय सुरक्षा अधिकारीसँगको समन्वयका साथसाथै सुरक्षाकर्मी परिचालन गरिएको छ। 

भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पु¥याउन र उनीहरुको गुनासो सम्बोधनका लागि जमुनाह नाकामा नागरिक सहायता कक्ष सञ्चालनको तयारीसमेत भइरहेको छ। रासस
 

प्रकाशित मिति: १३:३४ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्