Kathmandu Press

मापसेमा एक लाख ९० हजार चालकलाई कारवाही, ४३९ को लाइसेन्स निलम्बन

काठमाडौं, साउन १५ : मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने एक लाख ९० हजार चालक कारवाहीमा परेका छन्। त्यसमध्य चार सय ३९ चालकको अनुमतिपत्र (लाइस....

मापसेमा एक लाख ९० हजार चालकलाई कारवाही, ४३९ को लाइसेन्स निलम्बन
फाइल फोटो

काठमाडौं, साउन १५ : मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने एक लाख ९० हजार चालक कारवाहीमा परेका छन्। त्यसमध्य चार सय ३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरिएको छ।

यातायात व्यवस्था कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो। २०६८ मंसिर १७ देखि मापसे जाँचलाई कडाइ गरिएको थियो।

महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६ सय ९० चालकलाई कारवाही गरेको छ। उनीहरूको लाइसेन्समा प्वाल पारिएको छ।

पहिलोपटक मापसे सेवन गर्ने एक लाख ४९ हजार दुई सय १६, दोस्रोपटक २७ हजार चार सय ७७, तेस्रोपटक नौ हजार ९९, चौथोपटक तीन हजार दुई ८४ र  पाँचौँ पटक एक हजार एक सय ७५ चालकलाई कारवाही गरिएको छ। महाशाखाले मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्दै आएको छ।

महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको संख्यामा कमी आएको बताए। महाशाखाका अनुसार आव २०७४/७५ मा २२ हजार दुई सय २६ चालक मापसेमा कारवाही परेकामा आव २०७५/७६ मा २१ हजार नौ सय ७३ चालक कारवाहीमा परेका थिए।

महाशाखाले मापसे कारवाहीमा परेका चालकसँग एक हजार जरिवाना लिनाका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ।

उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाएपछि दुर्घटना हुने र धेरै मानिसको मृत्यु हुने गरेपछि ट्राफिक महाशाखाले २०६९ देखि मापसे जाँच तथा कारवाही गर्दै आएको छ।

प्रकाशित मिति: १२:४३ बजे, बुधबार, साउन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्