बलेवामा नगर अस्पताल सञ्चालन
बलेवा, असोज ९ : पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ। बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने...
बलेवा, असोज ९ : पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ। बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो।
बलेवाको पैयुँपाटास्थित स्वास्थ्यचौकीको स्तर वृद्धि गरी नगर अस्पताल सञ्चालन गरिएको हो। शुक्रबार नगरप्रमुख जनकराज पौडेलले सो अस्पतालको उद्घाटन गरे।
तत्काल पुरान संरचनामा अस्पताल सञ्चालन गरिएको छ । ‘एक वर्षभित्र सुविधासम्पन्न नयाँ भवन निर्माण गर्छौँ, जनशक्ति समेत थप्ने योजना छ,’ पौडेलले भने। स्थानीयवासीको सहयोगमा अस्पताल निर्माणका लागि नौ रोपनी जग्गाको व्यवस्था गरिएको छ। नयाँ भवन बनाउन रु १८ करोड बजेट बिनियोजन गरिएको छ।
‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअन्तर्गत पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको हो। अस्पतालमा तीन चिकित्सकसहित २७ जनाको जनशक्तिको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ। हाल यहाँ सनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, कार्यालय सहयोगसहित आठ कर्मचारी कार्यरत छन्।
उक्त अस्पताल सञ्चालनमा आएसँगै बागलुङ नगरपालिकाका पैयुँपाटा, नारायणस्थान र अमलाचौरका झण्डै २७ हजार नागरिक लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए।
‘सरकारी सहयोगसँगै स्थानीयवासीबाट सहयोग सङ्कलन समेत भइरहेको छ,’ उनले भने। रोजगारका लागि विदेशमा रहेकाहरुले समेत अस्पताल निर्माणका लागि सहयोग गर्न थालेको पौडेल बताउँछन्।
भरपर्दो अस्पताल नहुँदा यहाँका नागरिक सदरमुकाम बागलुङ, पर्वतको कुश्मा, पोखरालगायतका ठाउँ जानुपर्ने बाध्यता छ।












