Kathmandu Press

सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति नबनाएसम्म संसद चल्न दिन्नाैं: राजपा

काठमाडौं, साउन १४ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नगरेसम्म प्रतिनिधिसभा बैठ....

सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति नबनाएसम्म संसद चल्न दिन्नाैं:  राजपा

काठमाडौं, साउन १४ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिएको छ। 

राष्ट्रिय जनता पार्टी, नेपालको मंगलबार काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले सर्लाहीमा गैर न्यायिक ढंगले प्रहरीको गोलीबाट दुई जना नागरिकको ज्यान गएको घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन गर्नुपर्ने कांग्रेससहितको माग सम्बोधन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने अडान दोहोर्‍याएको हो।

बैठकले कैलालीको टिकापुर घटनाको सम्बन्धमा छानवीन गर्न गठित गिरिशचन्द्रलाल संयोजकत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धि विधेयक फिर्ता लिन पनि सरकारलाई निरन्तर दबाब दिने निर्णय गरेको पनि पार्टीका नेता अनिलकुमार झाले जानकारी दिए। 

बैठकले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत दिन सरकार जिम्मेवार नदेखिएको निष्कर्ष पनि निकालेको छ। बैठकमा समाजवादी पार्टी, नेपालसँगको पार्टी एकताका लागि वार्ता प्रक्रिया अघि बढ्न नसकेको निष्कर्ष निकाल्दै पार्टीको महाधिवेशनमा केन्द्रित भएर अघि बढने विषयमा पनि नेताहरुबीच छलफल भएको थियो।  
 

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, साउन १४, २०७६