Kathmandu Press

४३ वर्षपछि मूर्तरुप लिँदै लुम्बिनी गुरुयोजना

सिद्धार्थनगर, असोज ८ : लुम्बिनी गुरुयोजनाको अन्तिम कामको सुरुआत भएको छ। लुम्बिनी विकास कोषले बिहीबार एक समारोहबीच अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने...
४३ वर्षपछि मूर्तरुप लिँदै लुम्बिनी गुरुयोजना

सिद्धार्थनगर, असोज ८ : लुम्बिनी गुरुयोजनाको अन्तिम कामको सुरुआत भएको छ। लुम्बिनी विकास कोषले बिहीबार एक समारोहबीच अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ।

विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार कोषले लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग अलगअलग ठेक्का सम्झौता गरेको हो।

Hardik ivf

सदस्यसचिव शाक्यले गुणस्तरीय काम समयमै सक्ने गरी ठेक्का सम्झौता गरेको बताए। विश्वका ११५ देशका नागरिकले भ्रमण गर्ने लुम्बिनीको काम अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने उनको भनाइ छ।

गुरुयोजनाको अन्तिम कामको सुरुआत भएसँगै लुम्बिनीमा अबका दुई वर्षभित्र अस्पताल, सडक १४ किलोमिटर, ड्रेनेज ५५ किलोमिटर, ब्लकरोड २३ किलोमिटर, सडकको दुवैतर्फ आठ मिटरको ग्रिनरी, १३ ठाउँमा आकर्षक गेट, पर्सा र लखरियामा मूर्तिसहित भव्य आकर्षक प्रवेशद्वार, चारवटा पञ्चधातु पार्क, एक सारस सिद्धार्थ पार्क, एक हजार ७०० सडकबत्ती, आठवटा पार्किङस्थल र आन्तरिक लिङ्केज सडक बनाइने विकास कोषका योजना प्रमुख सरोज भट्टाराईले बताए।

टिसीआइएल सिआइएफ जेभी प्राविधिक परामर्शदाता रहेको उक्त काम रु तीन अर्ब ५० करोड लागतमा सम्पन्न गर्ने गरी अगाडि बढाइएको योजना प्रमुख भट्टराईले बताए।

सात अर्ब रकम बराबरको काम बाँकी रहेको र त्यसमध्ये साढे तीन अर्बको कामको ठेक्का सम्झौता भई काम सुरु भएको उनले बताए। अब अझै साढे तीन अर्बको कामको ठेक्का लगाउने प्रक्रिया सुरु भएको जनाइएको छ।

निर्माण व्यवसायीसँग कामको सुरुआत गर्ने गरी सम्झौतामा हस्ताक्षरपश्चात लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले सामान्यखाले ठेक्का परियोजना नभइ आजभन्दा ४३ वर्ष अगाडि नेपाल सरकारले तत्कालीन समयमा सात गाउँ हटाएर सुरु गरेको आयोजना भएको बताए। अब मूर्तरुप लिने उनको भनाइ थियो।

प्रकाशित मिति: ०८:४४ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्