Kathmandu Press

ठेकेदार सम्पर्कविहीन बनेपछि सडक अलपत्र

म्याग्दी, असोज ८ : बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ।गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी...
ठेकेदार सम्पर्कविहीन बनेपछि सडक अलपत्र

म्याग्दी, असोज ८ : बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ।

गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन। मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो।

निर्माण कम्पनीका प्रतिनिधि र सहायक ठेकेदार अधकल्चो काम छाडेर सम्पर्कविहीन बनेपछि आयोजना अलपत्र पर्नाका साथै नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। ठेकेदारको जिम्मामा पर्ने बाङ्गेपहिरोमा दैनिकजसो पहिरो खसेर सडक अवरुद्ध हुन्छ, यात्रु र सवारीधनीलाई कठिनाइ भएको उनको भनाइ छ।

Hardik ivf

आयोजना सञ्चालन गर्ने निकाय पूर्वाधार विकास कार्यालयले बेवास्ता गरेको उनको आरोप छ। ठेकेदार पाँच महिनादेखि सम्पर्कविहीन हुँदा काम नभएको र अहिले पहिरो पन्छाएर सडक मर्मत गरी नियमित यातायात सञ्चालन गर्न कठिनाइ भएको उनले बताए।

लाम्पाटाबाट दरवाङसम्म आठ किलोमिटर खण्डसडक कालोपत्र गर्न २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो। हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयले जनाएको छ। मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन प्याकेजमा स्तरोन्नति भइरहेको छ।

पहिलो प्याकेजमा पर्ने बेनीबाट सिमसम्मका सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको सडकलाई पूर्णता दिन मुख्य ठेकेदारले पाँच महिनापछि गत भदौदेखि काम सम्हालेका छन्।

समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो। मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका इञ्जीनियर महेन्द्र शाहले सडक निर्माणलाई पूर्णता दिने गरी काम सुरु गरेको बताए।

२०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६० प्रतिशतमात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०७:५६ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्