Kathmandu Press

बालुवाटार प्रकरणमा जोडिएका श्रेष्ठको मृत्युबारे संसदीय समितिमा कँडेल–रावल जुहारी

काठमाडौं, साउन १४ :  बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरको जग्गा प्रकरणमा मुछिएको भनिएका युक्तप्रसाद श्रेष्ठले माछा पोखरीस्थित हिमालय सिटी स....

बालुवाटार प्रकरणमा जोडिएका श्रेष्ठको मृत्युबारे संसदीय समितिमा कँडेल–रावल जुहारी

काठमाडौं, साउन १४ :  बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरको जग्गा प्रकरणमा मुछिएको भनिएका युक्तप्रसाद श्रेष्ठले माछा पोखरीस्थित हिमालय सिटी सेन्टरबाट हामफालेर आत्महत्या गरेको भनिएको घटनाबारे संसद्को राज्य व्यवस्था समितिमा सत्तारुढ नेकपाका झपटबहादुर रावल र कांग्रेसका देवेन्द्रराज कँडेलबीच रस्साकस्सी परेको छ।

कांग्रेसका देवेन्द्रराज कँडेलले युक्तप्रसाद श्रेष्ठको मृत्युबारे छानबिन गर्न कांग्रेसका सांसदले माग गरे। कांग्रेस सांसद तथा पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बालुवाटारको जग्गा प्रकरणमा सूचना चुहाउन सक्ने भएकाले श्रेष्ठको हत्या गरिएको हुन सक्ने आशंका व्यक्त गरे।

‘बालुवाटारको जग्गा प्रकरणमा केही कुरा चुहाउन सक्छन् भन्ने जानेर नै हत्या गरिएको त होइन ?’ कँडेलले भने, ‘यसबारे सत्य तथ्य बाहिर आओस्।’

उनीपछि बोलेको नेकपाका सांसद् झपटबहादुर रावलले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता अपराधीको यस्तै हविगत हुनुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए। रावलले दैनिक १० जना भ्रष्टाचारीहरु मरेको सुन्न पाइयोस् भन्दै कँडेलको भनाईलाई प्रतिवाद गरे । सांसद रावलले निर्दोषहरुले आत्महत्या गर्ने दिन अन्त्य हुनुपर्ने बताउँदै अपराधी र भ्रष्टाचारीले मर्नैपर्ने बताए । 

‘अपराधी र भ्रष्टाचारीले आठ तलाबाट मात्रै होइन, त्यहाँभन्दा अझै माथिबाट हामफालेर मर्ने अवस्था आउनुर्छ’, उनले भने, ‘दिनको १० जना भ्रष्टाचारी मरेको भन्ने खबर सुन्‍न पाइयोस्।’

प्रहरीका अनुसार, श्रेष्ठले १२ साउनमा माछापोखरीस्थित हिमालय सिटी सेण्टरबाट हामफालेर आत्महत्या गरेको जनाएको थियो। कांग्रेस पर्वतका सचिव श्रेष्ठ डिल्लीबजारस्थित मालपोत कार्यालयमा त्यसबेला खरिदारको जागिर खान्थे। २०५९ सालमै कर्मचारीबाट राजीनामा दिइसकेका छन्।

सांसद् कँडेलको प्रश्न थियो, ‘यति ठूलो प्रकरणमा एउटा खरिदारले कति काम गर्न सक्छ ? पूर्वप्रधानमन्त्रीदेखि वरिष्ठ नेताहरु संलग्न भएको काण्डमा खरिदारले के कस्तो भूमिका खेल्न सक्छन् ?’

साक्षी मेटाउने मनशायले हत्या गरिएको हुनसक्ने उनको आशंका छ। ९० किलोको मान्छे आठ तलामाथिबाट हामफाल्दा रगत नआउनु र अंगभंग नहुनु तथा देख्ने कोही नहुनुले आशंका पैदा गरेको कँडेलको दाबी थियो।

उनले भने, ‘पोस्टमार्टम रिपोर्टमा के भनिएको छ ?’ ‘ठूला नेता मुछिएकाले साक्षी मेटाउन यो घटना गराइएको हुन सक्छ।’
 

प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, साउन १४, २०७६